सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ६ स्थित मुतनीखोलामा बरदाही र कुरनमा गाउँ जोड्ने पुलको निर्माण थालिएको दशकभन्दा बढी समय भइसक्दा पनि काम पूरा भएको छैन । पुल नबन्दा यस क्षेत्रका बासिन्दालाई आवतजावतमा सास्ती भइरहेको छ ।
कुरनमा, बरदाही, बनैनियाँ, मोहनपुर, रम्पुरा, फकिरा, कन्कटालका स्थानीयलाई आवागमनमा कठिनाइ भएको छ । वर्षायाममा नदी किनारमा रहेको विद्यालयका विद्यार्थीलाई आउजाउ गर्न समस्या भइरहेको छ ।
कतिपय बालबालिका विद्यालय जानबाट वञ्चित हुनुका साथै विद्यालय नै छोड्न बाध्य भएका छन् । गाउँपालिकाका पदाधिकारीले पनि पुल नहुँदा स्थानीयलाई पालिका आउन लामो दूरीको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
२०७० मा रु एक करोड सात लाखमा पुल निर्माणको ठेक्का दिएर काम सुरु भएपनि दुई वर्षमा सक्ने भनिएको काम अझै पूरा भएको छैन । अहिले दुई पिलर मात्रै बनेका छन् । काम समयमा नगरेपछि निर्माण कम्पनीको ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।




