सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित खोरियाटोलका बासिन्दा पानीको चरम अभाव झेल्न बाध्य भएका छन् । नजिकै रहेको चुनिया खोलामा पानी सुक्दै गएपछि गाईबस्तुलाई खुवाउने र दैनिक उपभोगका लागि आवश्यक पानी जोहो गर्ने विषयमा बस्तीका २६ घर परिवार चिन्तित छन् ।
दैनिक १०/१५ गाग्री पानी खोलाबाट ओसार्दै आएकी एक स्थानीयले सुक्दै गएको खोलातर्फ देखाउँदै अबको एक दुई दिनभित्र पानी भर्ने समस्या थपिने चिन्ता व्यक्त गरिन् । उनका अनुसार हिउँदको छ महिना पूरै गाउँ पानीको अभावले काकाकुल हुन्छ । खोला, इनार र कुवा सुक्ने हुँदा मानिस र गाईवस्तुको पानीको समस्या झनै गहिरिन्छ ।
चुरे क्षेत्रको फेदमा अवस्थित खोरियाटोल हरेक वर्ष पानीको चरम अभाव झेल्दै आएको छ । यहाँका स्थानीयका अनुसार, पानीको सतह ह्रास भएसँगै बसाइँ सर्ने अवस्था आइसकेको छ । न त पर्याप्त पानी पिउन पाउने अवस्था छ, न त कृषि उत्पादन नै सम्भव भएको छ ।
हिउँद समयमा अधिकांश चुरे क्षेत्रका पानीका स्रोत सुक्ने भएकाले धेरै स्थानीय दुई घण्टाको बाटो हिँडेर टाढाबाट पानी ओसार्न बाध्य छन् । यहाँ अझै खानेपानी, विद्युत् र सडकको सुविधा उपलब्ध नभएको कारण स्थानीयले विकासका आश्वासन मात्र पाउँदै आएको गुनासो गरेका छन् ।
नगरपालिकाले गत आर्थिक वर्षमा क्षेत्रको पानी समस्या समाधानका लागि डिपबोरिङ गर्ने अध्ययन गरेको भएपनि योजना अझै कार्यान्वयन हुन सकेको छैन । यस वर्ष तीन वटा डिपबोरिङ सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसमध्ये एक स्थानमा काम सुरु भइसकेको छ । अन्य स्थानमा प्राविधिक अध्ययन भइरहेपनि स्थानीयको समस्या समाधानमा ढिलाइ भइरहेको छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण चुरे क्षेत्रका पानीका सतह झनै गहिरिँदै गएको छ । ठूला डिपबोरिङ असफल भइरहेकाले दीर्घकालीन समाधानका लागि वन व्यवस्थापन, जलाधार क्षेत्र संरक्षण र नदी कटान नियन्त्रणमा एकीकृत योजना आवश्यक रहेको वातावरणविद्हरूले बताएका छन् ।




