एजेन्सी । पाकिस्तानका तीव्र बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले यो निर्णय लिन निकै सोच विचार गरेको बताएका छन् । आमिरले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले धेरै सोचेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय गरेको छु । यस्तो निर्णय गर्नु कहिल्यै सजिलो हुँदैन ।’
उनले आगामी पुस्ताले नेतृत्व सम्हाल्ने र पाकिस्तान क्रिकेटलाई नयाँ उचाइमा लैजाने सही समय आएको बताएका छन् । ‘आफ्नो देशको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान रह्यो र सधैं रहिरहनेछ,’ उनले लेखेका छन् ।
आमिरले पाकिस्तान क्रिकेट बोर्ड, परिवारका सदस्य, साथीभाइ र समर्थक प्रति आभार व्यक्त गर्दै आफ्नो क्रिकेट यात्रा पूरा भएको जनाएका छन् । यसअघि पनि आमिरले एक पटक सन्यासको घोषणा गरेका थिए । तर, पछि निर्णय फिर्ता लिँदै पाकिस्तानका लागि टी–२० विश्वकप खेलेका थिए ।






