सिरहा । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण पुन: सुरु भएको छ । गत असारदेखि रोकिएको पुल निर्माण गत हप्तादेखि सुरु गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ ।
निर्माण कम्पनी र बीमा कम्पनी बीचको विवादका कारण असोजमा सुरु हुनुपर्ने निर्माण कार्य ढिलाइ भएको थियो । निर्देशनालयका योजना प्रमुखका अनुसार उच्च अदालत पाटनमा विचाराधीन विवादले पुल निर्माण लामो समय रोकिएको थियो । अदालतको निर्णय पर्खनुभन्दा निर्माण अघि बढाउन दबाब परेपछि काम पुनः सुरु गरिएको हो ।
कमला पुल निर्माण २०६८ जेठ ३१ मा पप्पु कन्स्ट्रक्सनले तीन वर्षभित्र सम्पन्न गर्ने गरी जिम्मा पाएको थियो । तर, समयमै काम नगरेपछि पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखी बाँकी काम लुम्बिनी बिल्डर्सलाई दिइएको थियो ।
निर्देशनालय र निर्माण कम्पनीबीच २०८१ असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने सहमति भएको थियो । तर, निर्माण अन्तिम चरणमा पुग्दा आएको बाढीले पुललाई क्षति पुर्याएपछि निर्माण कम्पनीले बीमा रकमको माग गरेको थियो । बीमा कम्पनीले १२ करोड रुपैयाँ क्षतिपूर्ति दिन अस्वीकार गरेपछि कम्पनी अदालत गएको थियो ।
निर्माणको लामो ढिलाइले स्थानीय बासिन्दा प्रभावित भएका छन् । वर्षातमा डुङ्गाको सहारामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने र हिउँदमा अस्थायी बाँस र काठको पुल प्रयोग गर्नुपर्ने बाध्यता छ ।
पुल निर्माण पुन: सुरु भएपछि स्थानीय बासिन्दामा आशा जागेको छ । निर्देशनालय प्रमुखका अनुसार प्राविधिक समस्या समाधान भएपनि कानुनी विवादका कारण निर्माण समयमा पूरा हुनेमा अझै शंका छ ।
कमला पुल मधेसको यातायातको महत्वपूर्ण साधन मानिन्छ । स्थानीयले पुल निर्माण समयमा सम्पन्न गरी सुरक्षित यात्रा गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।




