राजविराज । नेपाल-भारत सीमामा रहेका छोटी भन्सार कार्यालयहरू कर्मचारी अभावका कारण सञ्चालनमा आउन नसक्दा सप्तरी जिल्लासँग जोडिएका भारतीय नाकाहरूबाट राजश्व संकलनमा ठूलो असर परेको छ । मुख्य भन्सार कार्यालय रहेको राजविराज भन्सार कार्यालय पनि कर्मचारी अभावका कारण समस्या भोगिरहेको छ ।
सप्तरी जिल्लामा ७८ किलोमिटर भारतीय सीमा रहेको छ, जहाँ बेल्ही तिलाठी मुख्य नाकासहित ७ स्थानमा तोकिएका नाकाहरू रहेका छन् । यद्यपि, कर्मचारी अभावका कारण अन्य छोटी भन्सार कार्यालयहरू सञ्चालनमा आउन सकेका छैनन् ।
राजविराज भन्सार कार्यालयमा कुल २२ जना कर्मचारीको दरबन्दी छ, तर हालमा ६ जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । नायब सुब्बा पदमा ८ दरबन्दी भएता पनि २ जना मात्रै कार्यरत छन् । यसले राजविराज भन्सारको राजश्व संकलनलाई गंभीर असर पुर्याएको छ ।
कर्मचारी अभावका कारण भन्सार कार्यालयमा सवारी लिलामी, गोदाम व्यवस्थापन, जाँचपास, गस्ती र कार्यालयका अन्य कामहरू प्रभावित भएका छन् । साथै, राजविराज भन्सार कार्यालयको गेटभन्दा केही पूर्व भन्सार हनुमाननगर सडकमा पुल भासिएर आवागमनमा समस्या आएका कारण राजश्व संकलनमा थप चुनौती आएको छ ।
सडकको पुल भत्किएको लामो समय भइ पनि मर्मत वा पुनर्निर्माणका लागि सरकारी निकायको ध्यान जान सकेको छैन । यसका कारण ठूलो सवारीसाधन आवागमन गर्न नसक्दा आयात प्रभावित भएको छ र राजश्व संकलनमा गिरावट आएको छ ।




