सर्लाही । सर्लाही प्रहरीले बन्धक बनाइएका भारतका १५ वर्षीय बालकलाई सकुशल उद्धार गरेको छ । बालकलाई सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ स्थित रामजी साहको घरबाट उद्दार गरिएको हो ।
अपहरण आरोपमा प्रहरीले तीन जनालाई हात हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्रम्हपुरी गाउँपालिका ४ का ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान र बिहार राज्यको सितामढी जिल्ला राजवाडा ग्रामपंचायत मुसहर्निया टोलका २७ वर्षीय प्रवचन साह रहेका छन् ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार, पक्राउ परेकाहरूको साथबाट कटुवा पेस्तोल १ थान, २ राउन्ड गोली, १ थान मोबाइल, धारिलो चक्कु, १ थान हथौडा र बीआर ०६ बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।
प्रवक्ता श्रेष्ठले बालकलाई सुरक्षित रूपमा उद्धार गरी परिवारको जिम्मा लगाइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ परेकाहरूलाई अपहरण, शारीरिक बन्धक र हात हतियार खर खजाना सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । यसका लागि जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद अनुमति लिएको छ ।




