वीरगन्ज । पर्साको जानकी टोलदेखि रौतहटको गण्डक नहरको ३ नम्बर ब्लकसम्म फैलिएको नेपाल गण्डक सडकमा रहेका पुल जीर्ण अवस्थामा पुगेका कारण यात्रा जोखिमपूर्ण बन्दै गएको छ । पर्सादेखि रौतहटसम्म ८१ किलोमिटर लामो यो सडक कालोपत्रे भएपछि सवारी साधनको चाप बढेपनि जीर्ण पुलहरू मर्मत सम्भार नगरिएकाले यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । पर्सा, बारा र रौतहट जिल्लालाई जोड्ने हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग गरिँदै आएको छ ।
सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको यो सडक फराकिलो भएपछि ठूला सवारी साधनको आवागमन पनि बढेको छ । तर, पुलहरू जीर्ण अवस्थामा पुग्न थालेका छन् । सम्बन्धित निकायका अनुसार नहर प्रणाली र त्यसमा रहेका संरचनाहरूको सरदर आयु ५० वर्ष हो, तर यी संरचनाहरू लगभग ४५ वर्ष पुराना भइसकेका छन् ।
पर्सा र बारा जिल्लामा रहेका २२ पुलहरूमध्ये तीनवटा पुल अत्यन्त जीर्ण छन् । एउटा पुल भासिएपछि डाइभर्सन बनाई आवागमनलाई सहज बनाउन प्रयास गरिएको छ । एप्रोच सडकको प्रयोग पहिले निजी प्रयोजनका लागि मात्र गरिन्थ्यो । राजनीतिक परिवर्तनपछि सर्वसाधारणका लागि खुला गरिएको यो सडक अत्यधिक प्रयोग हुन थालेपछि पुलहरूको सामान्य मर्मत सम्भार समेत गरिएको छैन ।
तिलाबे खोलाको पुल भासिएको छ भने सिर्सिया र बङ्गरी खोलाका पुलहरूमा सामान्य मर्मत गरेर सञ्चालनमा राखिएको छ । फेटाचोक, कोतवाली नहर र ओरियाखोलाका पुलहरू पनि तत्काल मर्मत सम्भार नगरिए ठूलो दुर्घटना निम्त्याउने खतरा रहेको छ । पर्साको जगरनाथपुर क्षेत्रमा औद्योगिकीकरण तीव्र गतिमा बढेकाले नेपाल गण्डक राजमार्गमा दैनिक ठूलो सङ्ख्यामा मालवाहक सवारी साधन गुड्ने गरेका छन् ।
यस्ता पुलहरूको मर्मत र व्यवस्थापनका लागि सम्बन्धित निकायले उचित बजेट व्यवस्था गरी तत्काल कदम चाल्नुपर्ने स्थानीयहरूको माग छ । जिम्मेवार निकायले पुलहरूको सुरक्षा सुनिश्चित गरी यात्रुलाई सुरक्षित यात्रा प्रदान गर्न आवश्यक कदम चाल्नु पर्ने जनाइएको छ ।




