बारा । प्रादेशिक अस्पताल कलैयाका बिरामीहरूलाई निजी अस्पतालले अपहरणशैलीमा उपचारका लागि लैजाने गरेको गुनासो बढ्दो छ । विगत केही वर्षदेखि अस्पतालको वरपर सञ्चालित छ वटाभन्दा बढी निजी अस्पतालहरूले यस्तो कार्य गर्दै आएको स्थानीयले आरोप लगाएका छन् ।
खासगरी दुर्घटनामा परेका बिरामी, प्रसूति, हाडजोर्नी, विष सेवनजस्ता गम्भीर अवस्थाका बिरामीलाई अस्पतालकै कर्मचारीको सहयोगमा निजी अस्पतालतर्फ तान्ने गरिएको बताइएको छ ।
कलैया अस्पतालमा दैनिक पाँच सयसम्म ओपिडी सेवामा र डेढ सयजति आकस्मिक सेवामा बिरामीहरू आउने गरेका छन् । अस्पतालको शय्या सङ्ख्या ५० भएपनि हाल ७६ जना बिरामी भर्ना गरेर सेवा दिइरहेको छ ।
अस्पतालमा विभिन्न विभागमा विशेषज्ञ चिकित्सक कार्यरत छन्, तर ती चिकित्सक निजी अस्पतालमा पनि आबद्ध भएकाले उनीहरूमाथि बिरामीलाई दबाब दिएर निजी अस्पतालमा पठाउने आरोप लागेको छ ।
आकस्मिक कक्षमा आउने बिरामीलाई अस्पतालको शय्या खाली नभएको वा सेवा राम्रो नभएको भन्दै निजी अस्पताल जान दबाब दिने गरिएको बिरामीका आफन्तले गुनासो गरेका छन् ।
एम्बुलेन्स चालकहरूले समेत कमिशनको आधारमा बिरामीलाई निजी अस्पताल लैजाने गरेको बताइएको छ । बिरामीहरूको गुनासोका आधारमा हालै प्रशासनले अस्पताल अनुगमन गरेको थियो । अनुगमनको क्रममा बिरामीहरूसँग भलाकुसारी गरी सुधारका लागि निर्देशन दिइएको थियो ।
यसैबीच, अस्पताल प्रशासनले आफ्नो तर्फबाट सेवा प्रभावकारी बनाउन प्रयासरत रहेको दाबी गरेको छ । अस्पतालमा भइरहेका विकृतिविरुद्ध सङ्घर्ष गर्दै बिरामीलाई थप सुविधाजनक सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
तर, निजी अस्पतालतर्फ बिरामी तान्ने क्रमले बिरामी र तिनका परिवारलाई आर्थिक र मानसिक दबाब सिर्जना गरिरहेको छ । यस्तो कार्य रोक्न थप प्रभावकारी अनुगमन र सुधारको आवश्यकता रहेको सरोकारवालाहरूको मत छ ।




