काठमाडौं । मधेश प्रदेश सरकारले आज ७ औं बलिदानी दिवस मनाउने भएको छ । अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गर्दै मधेश सरकारले दिवस मनाउन लागेको मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।
बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदको सम्झनामा एक लाख दिप प्रज्वलन गर्ने बताइएको छ । २०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ ।
माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । सो दिनलाई स्मरण गर्दै पूर्व मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने निर्णय गरेको थियो ।




