पर्सा । पर्साको बहुदरमाई नगरपालिकामा रहेका २० सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरू तलब भत्ताको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आइतबारदेखि विद्यालयमा तालाबन्दी गर्दै पठन पाठन ठप्प पारेका छन् ।
सोमबार पनि विद्यालय बन्द रहँदा १० हजार विद्यार्थीहरू पठनपाठनबाट वञ्चित भएका छन् । शिक्षक शिक्षिकाहरूले विगत ६ महिनादेखिको तलबभत्ता र दशैं खर्चसहित ७ महिनाको पारिश्रमिक नपाएको भन्दै विद्यालय बन्द गरेका हुन् ।
तलब भत्ता अभावले घर खर्च टार्न समेत समस्या भएको उनीहरूको गुनासो छ । आन्दोलनकारी शिक्षक शिक्षिकाहरूले विद्यालयमा ताला लगाई चाबी प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।
नगरपालिकाका आन्तरिक विवादका कारण कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षक शिक्षिकाहरूले तलब भत्ता पाउन नसकेको बुझिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शिक्षक र कर्मचारीहरूको समस्या समाधानका लागि आवश्यक छलफल गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




