काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्दै गएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले संक्रमण बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्बन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य संगठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमितको संख्यामा बृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार संक्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्लुएचओको भनाइ छ ।
त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु हुनेको संख्या समेत वृद्धि भएको डब्लुएचओले जनाएको छ । साथै, विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि डब्लुएचओको भनाइ छ ।
त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ । संक्रमित संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ ।
भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायत लगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् । कतिपय देशहरुमा कोरोना भाइरसको चौथो चरणको महामारी समेत सुरु भएको डब्लुएचओको भनाइ छ ।






