एजेन्सी । एकैदिनमा ५५५ जनाको मृत्यु भएको भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ संक्रमित भएका हुन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना संक्रमित अवस्थामै रहेको जनाएको छ । संक्रमित अवस्थामै रहेकाहरुको यो संख्या कूल संक्रमितहरुको संख्याको १.२८ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा अहिले संक्रमणमुक्त भइसकेकाको संख्या भने तीन करोड १५ लाख ७२ हजार ३४४ रहेको छ । ती मध्ये ४२ हजार ३६० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।
एकैदिनमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या थोरै भएकाले अहिले सक्रिय संक्रमितहरुको संख्या अघिल्लो दिनभन्दा बढी भएको छ । भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म चार लाख २३ हजार २१७ जनाको मृत्यु भएको छ ।
ती मध्ये ५५५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ४६ करोड ४६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४५ करोड ६० लाखलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।






