तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बलबहादुर गुरुङले बिल पास गर्न नमानेको भन्दै सचिव नवीन भुसालमाथि कार्यस्थलमै हातपात गरेका छन् । शुक्रबार बिहान साढे १० बजे सचिव भुसाललाई कुटपिट गर्दै ज्यान मार्ने धम्कीसमेत दिएको आरोप लागेको छ ।
पालिका कर्मचारीहरूका अनुसार, सचिव भुसालले स्टेटमेन्टभन्दा बढीको बिल पास गर्न नसकिने बताएपछि वडा अध्यक्ष गुरुङले आक्रमण गरेका थिए । घटनाका प्रत्यक्षदर्शीका अनुसार, गुरुङले सचिव भुसालको घाँटी निचोरेर मुक्का प्रहार गरेका थिए, जसका कारण सचिव घाइते भएका छन् ।
घटनापछि कर्मचारी संघको विरोध
घटनाको निन्दा गर्दै पालिकामा कार्यरत कर्मचारी तथा जिल्लाका कर्मचारी संघ संगठनहरूले दोषीमाथि कारबाही नभएसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भगवान त्रिपाठी, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी, तथा राष्ट्रिय कर्मचारी संगठन (निजामती) का अध्यक्ष तीर्थ थापाले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
सचिव अस्पतालमा, अध्यक्षको सफाइ
घाइते सचिव भुसालको प्रारम्भिक उपचार बन्दिपुर अस्पतालमा गरिएको थियो, तर थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको छ । उनको घाँटीमा गम्भीर चोट लागेको चिकित्सकहरूले जनाएका छन् ।
यस घटनामा वडा अध्यक्ष गुरुङले भने आफ्नो बचाउ गर्दै सचिवलाई मात्र तीन झापड हानेको स्वीकारेका छन् । उनी नेकपा (एमाले) बाट निर्वाचित वडा अध्यक्ष हुन् । यता, स्थानीय प्रशासनले घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ ।






