एजेन्सी । जेसन केन्नी ओलम्पिक खेलकुदमा बेलायतका लागि सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी बनेका छन् । उनले जारी टोकियो ओलम्पिक खेलकुदको ट्रयाक साइक्लिङ अन्तर्गत केइरिनमा स्वर्ण पदक जिते र प्रतियोगिताको इतिहासमा आफ्नो स्वर्ण पदकको संख्यालाई ७ पुर्याए ।
यसअघि कुनैपनि बेलायती खेलाडीले ओलम्पिक खेलकुदमा यति धेरै स्वर्ण पदक जित्न सकेको छैन । केन्नीले ओलम्पिक खेलकुदमा हालसम्म ट्रयाक साइक्लिङको स्प्रिन्ट (२०१२ र २०१६) र केइरिन (२०१६ र २०२०) मा दुई/दुई स्वर्ण जितेका छन् ।
यसैगरि स्प्रिन्टको टिम स्पर्धामा २००८, २०१२ र २०१६ मा गरी तीन पटक स्वर्ण पदक जितेका छन् । उनले यसपटक टिम स्प्रिन्टमा रजत पदक जितेका छन् । सन् २००८ मा स्प्रिन्टमा रजत पदक जितेका थिए । उनले ओलम्पिक खेलकुदमा हालसम्म ७ स्वर्ण र दुई रजतसहित ९ पदक जितेका छन् ।
केन्नीकी श्रीमती लउरा भने यसपटक रजत पदकमा सीमित भइन् । उनी ट्रयाक साइक्लिङको ओम्नियममा दोस्रो भएकी हुन् । उनले सन् २०१२ र २०१६ को ओलम्पिक खेलकुदमा यस स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् ।
ओलम्पिक खेलकुदमा लउरा बेलायतकी सर्वाधिक सफल महिला खेलाडी हुन् । उनले प्रतियोगिताको इतिहासमा ५ स्वर्ण र एक रजत जितेकी छिन् ।






