काठमाडाैं । आइतबार लियोनल मेसीले औपचारिक रुपमा आफ्नो पुरानो क्लब बार्सिलोना छोडे । स्पेनिस क्लब बार्साले गरेको पत्रकार सम्मेलनमा उनी भावुक बने । उनले क्लब छाेड्दै गर्दा अब उनकाे आगामी यात्रा कता हुन्छ भन्ने काैतुहलता थियाे । अहिले उनी पीएसजी जाने पक्का पक्की भइसकेकाे छ । उनका प्रसंसककाे याे काैतुहलता मेटिएकाे छ ।
खेलाडीको स्थानान्तरणको समय चर्चामा आउने एउटा अर्काे विषय जर्सी नम्बर पनि हो । प्रायः एउटा खेलाडीले आफ्नो पुरानो क्लबमा लगाइरहेको जर्सी नयाँ क्लबमा अर्कैले लगाइरहेको हुन्छ । र, पिएसजीमा पनि लियोनलस मेसीका हकमा यस्तै भइरहेको छ ।
हुन त मेसी र पिएसजीबीच अन्तिम सम्झौता हुन बाँकी नै छ । तर जर्सी नम्बरको चर्चा भने सुरु भइसकेकाे छ । पिएसजीले मेसीलाई ३० नम्बरको जर्सी लगाउन अफर गरिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मेस्सीले बार्सिलोनामा १० नम्बर जर्सी लगाएर खेलेका थिए । पिएसजीमा नेइमारले १० नम्बरको जर्सी लगाउँछन् । यसअघि मेसी क्लबमा आएमा आफ्नो जर्सी उनलाई दिने घोषणा नेइमारले गरेका थिए । तर, मेसी आफ्नो साथीकाे जर्सी खोस्न चाहँदैनन् । त्यसैले उनले यो प्रस्ताव अस्विकार गरे । मेसी र नेइमार बार्सिलोनाबाट खेल्दा अति निकट थिए, अहिले पनि उनीहरूकाे त्यो मित्रता कायमै छ ।
मेसीका लागि विकल्पका रुपमा अहिले ३० र १९ नम्बरको जर्सीलाई अघि सारिएको छ । मेसीले युवा टोलीबाट खेल्दा १९ नम्बरको जर्सी लगाउँथे । बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गर्दा उनले ३० नम्बर जर्सी लगाएका थिए । लिगड वानमा प्राय वैकल्पिक गोलकिपरलाई ३० नम्बरको जर्सी दिइन्छ । मेसीलाई भित्र्याउने दौडमा पिएसजी अगाडि छ । तर, म्यानचेस्टर युनाइटेडले पनि उनलाई भित्र्याउन चाहेको छ ।






