एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १,०४७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा छन् । त्यसपछि महाराष्ट्रमा २०८, दिल्लीमा १०४, गुजरातमा ८३, कर्नाटकमा ८० र बेंगलुरुमा मात्र ७३ संक्रमित रहेका छन् ।
मृत्युका घटनामा महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेश गरी पाँच राज्यमा हालसम्म ११ जनाको ज्यान गएको छ । तीमध्ये नौ जनाको मृत्यु पछिल्लो एक साताभित्र भएको हो । सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ, जहाँ पाँच जनाले ज्यान गुमाएका छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो एक सातामा ७८७ नयाँ संक्रमित दर्ता भएका छन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (ICMR) का निर्देशक डा. राजीव बहलले हालसम्म भारतमा कोरोना भाइरसका चारवटा नयाँ भेरियन्टहरू फेला परेको जानकारी दिएका छन् ।
जयपुरमा सोमबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये एक जना रेलवे स्टेशनमा मृत अवस्थामा फेला परेका थिए, जसको कोरोना रिपोर्ट पछि पोजेटिभ आएको हो । अर्का २६ वर्षीय युवकको निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी पहिलेदेखि नै क्षयरोगबाट पीडित थिए ।






