एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र उनकी श्रीमती ब्रिगिट म्याक्रोनबीच हालैको झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । घटना २५ मे मा म्याक्रोनको भियतनाम भ्रमणका क्रममा, हनोईस्थित नोई बाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो ।
भिडियोमा म्याक्रोन विमानबाट ओर्लन लाग्दा ब्रिगिटले उनको अनुहार समातेर हल्का धकेलेको देखिन्छ । केही क्षण स्तब्ध देखिएका म्याक्रोन तुरुन्तै सम्हालिन्छन् र बाहिरको जमाततर्फ हात हल्लाउँछन् । त्यसपछि ब्रिगिट पनि उनीसँगै विमानको भर्याङबाट ओर्लन्छिन् । म्याक्रोनले हात बढाउँदा उनले त्यसलाई बेवास्ता गरेको देखिन्छ ।
राष्ट्रपति कार्यालयले यस घटनालाई सामान्य पारिवारिक मजाकको रूपमा व्याख्या गर्दै दुबैबीचको सम्बन्धमा गम्भीर समस्या नभएको बताएको छ । म्याक्रोनका सहयोगीका अनुसार, यो घरेलु झगडा होइन, हल्का हाँसो–ठट्टा मात्रै थियो । तर, रुसी समर्थक ट्रोल समूहहरूले यसलाई घरेलु हिंसाको रूपमा चित्रित गर्दै सामाजिक सञ्जालमा प्रचार गरेका छन् । म्याक्रोन स्वयंले हनोईमा पत्रकारहरूसँग बोल्दै घटनालाई मजाकको रूपमा लिन आग्रह गरेका छन् ।
म्याक्रोन र ब्रिगिटको असाधारण प्रेम कथा
यो घटनासँगै म्याक्रोन र ब्रिगिटबीचको प्रेम कथा पुन: चर्चामा आएको छ । यो प्रेम कहानी केवल असाधारण मात्र होइन, फ्रान्स र विश्व राजनीतिमा उदाहरणीय पनि मानिन्छ । सन् १९९३ मा, १५ वर्षीय इमानुएल म्याक्रोन फ्रान्सको ला प्रोभिडेन्स स्कूलमा पढ्न थाले । त्यहाँ उनको भेट ३९ वर्षीया ल्याटिन, फ्रेन्च र नाटककी शिक्षिका ब्रिगिट ट्रोनिउसँग भयो । त्यो समय ब्रिगिट विवाहित थिइन् र उनका तीन सन्तान थिए । उनीमध्येकी एक छोरी लरेन्स म्याक्रोनकै कक्षामा थिइन् ।
एक दिन, लरेन्सले घरमा आफ्ना अभिभावकहरूलाई “एक प्रतिभाशाली सहपाठी”को बारेमा बताइन् । त्यही सहपाठी थिए – इमानुएल म्याक्रोन । ब्रिगिटले इमानुएललाई पहिलोपटक स्कूल नाटकको मुख्य पात्रको रूपमा देखेपछि दुवैबीचको संवाद सुरु भयो । समयसँगै ब्रिगिट म्याक्रोनको बुद्धिमत्ताले प्रभावित हुँदै उनलाई मन पराउन थालिन् । नाटक अभ्यासको दौरान, म्याक्रोनले शिक्षिकाको गालामा चुम्बन गरेका थिए, जसपछि उनीहरूको सम्बन्ध सार्वजनिक भयो ।
जब म्याक्रोनका अभिभावकले यो सम्बन्धबारे थाहा पाए, छोरालाई टाढा लैजाने निर्णय गरे । उनीहरूले इमानुएललाई पेरिस पठाए । सुरुमा म्याक्रोन तयार थिएनन् तर ब्रिगिटको आग्रहमा उनी पेरिस गए । जानेबेला उनले ब्रिगिटलाई वाचा गरे, “जे भए पनि म एकदिन तिमीलाई बिहे गर्छु ।”
म्याक्रोनले आफ्नो वाचा पूरा गर्दै २००७ मा २९ वर्षको उमेरमा ब्रिगिटसँग विवाह गरे । त्यसबेला ब्रिगिट ५४ वर्षकी थिइन् । विवाह गर्नुअघि ब्रिगिटले सन् २००६ मा आफ्ना पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरिन् । विवाह समारोहमा ब्रिगिटका तीन छोराछोरी र म्याक्रोनका अभिभावकसमेत सहभागी थिए ।
राजनीतिमा ब्रिगिटको साथ
विवाहपछि म्याक्रोनले राजनीतिमा प्रवेश गर्ने सपना देखे । ब्रिगिटले पनि शिक्षिका पदबाट राजीनामा दिँदै उनलाई राजनीतिक यात्रामा साथ दिइन् । सन् २०१४ मा फ्रान्सको अर्थमन्त्री हुँदा पनि ब्रिगिट म्याक्रोनको विश्वासपात्र र सल्लाहकारको रूपमा रहिन् ।
२०१७ को राष्ट्रपति चुनावका बेला, म्याक्रोन समलैंगिक भएको हल्ला फैलियो। ब्रिगिटले खुलेर उनको पक्ष लिएर ती आरोपहरू अस्वीकार गरिन् । म्याक्रोनको उम्मेदवारीदेखि जितसम्म ब्रिगिट निरन्तर साथमा रहिन् । ३९ वर्षको उमेरमा म्याक्रोन फ्रान्सको इतिहासमा सबैभन्दा कान्छा राष्ट्रपति बने ।
ब्रिगिटको आत्मकथा र म्याक्रोनको रचनात्मक पक्ष
ब्रिगिट म्याक्रोनले आफ्नो आत्मकथात्मक पुस्तक “Brigitte Macron – The Liberated Woman” मा यो सम्पूर्ण प्रेम यात्रा र संघर्षको बयान गरेकी छन् । त्यस्तै, म्याक्रोनले किशोर अवस्थामै करिब ३०० पृष्ठ लामो साहसी उपन्यास लेखेका थिए, जुन उनका तत्कालीन भावनाहरूको प्रतिबिम्ब मानिन्छ ।
इमानुएल म्याक्रोन र ब्रिगिटको सम्बन्ध केवल व्यक्तिगत प्रेम कथा होइन, साहस, प्रतिबद्धता र समझदारीको अद्वितीय उदाहरण हो । शिक्षक र विद्यार्थीको रूपमा सुरु भएको सम्बन्ध राष्ट्रपति र प्रथम महिलासम्म पुग्नु आफैंमा विशेष यात्रा हो, जसले प्रेम कुनै दायराभन्दा ठूलो हुन्छ भन्ने सन्देश दिन्छ ।






