एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं संस्करणको उपाधि रोयल च्यालेन्जर्स बैंगलोरले जितेको छ । बैंगलोरले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै आफ्नो आईपीएल इतिहासमा पहिलो पटक उपाधि उचाल्न सफल भएको हो ।
पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्सले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । बैंगलोरका लागि विराट कोहलीले सर्वाधिक ४३ रन बनाउँदा कप्तान रजत पाटीदारले २६, लियाम लिभिङस्टोनले २५ र जितेश शर्माले २४ रनको योगदान दिए ।
पञ्जाबका लागि अर्शदीप सिंह र काइल जामिसनले ३-३ विकेट लिए भने अज्मतुल्लाह ओमरजई, विजयकुमार व्यासक र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।
१९१ रनको लक्ष्य पछ्याउन उत्रिएको पञ्जाब किंग्सले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो । पञ्जाबका शशांक सिंहले सर्वाधिक ६१ रन बनाएका थिए भने जोश इंगलिसले ३९, प्रभसिमरन सिंहले २६ र प्रियंशु आर्याले २४ रन जोडे ।
बैंगलोरका लागि भुवनेश्वर कुमार र क्रुनाल पाण्डेयले समान २-२ विकेट लिए । बाँकी विकेटहरू टीमका अन्य बलरले बाँडे । यो जितसँगै रोयल च्यालेन्जर्स बैंगलोरले चौथो पटक फाइनल खेलेको अवसरमा पहिलो पटक आईपीएल उपाधि जितेको हो ।
यसअघि २००९, २०११ र २०१६ मा उपविजेता बनेको बैंगलोरले अन्तत: उपाधिको खडेरी तोडेको छ । पञ्जाब किंग्सले भने दोस्रो पटक आईपीएलको फाइनल खेलेको हो । यसअघि २०१४ मा पनि फाइनल पुगेको पञ्जाब त्यसबेला पनि उपविजेता बन्न पुगेको थियो ।






