एजेन्सी । कोरोना महामारीमा थप शक्तिशालीरुपमा देखा परेको ‘इन्डियन कोभिड भेरिएन्ट’को संक्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्ररुपमा बढ्न थालेको छ । यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइएको छ ।
यहाँ गएको २४ घन्टामा १४६ जनाको संक्रमणबाट निधन भएको छ । यो संख्या गएको मार्चको १२ तारिख पछिकै सबैभन्दा धेरै हो । उता अधिकारीले गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको तथ्याङ्कले देखाएको बताएका छन् ।
बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ । यो समेत गरी यहाँ अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ ।
यहाँ पछिल्लो समयमा मृत्युको संख्या बढ्न थालेको बताइएको छ । कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन यहाँको सरकारले भनिरहेको छ । यहाँ संक्रमणको दर पनि बढ्दै गएको देखिएको छ ।
स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा यहाँ २३ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । यो समेत गरी अहिलेसम्म यहाँ यो संक्रमणबाट ६१ लाखभन्दा बढी संक्रमित भएका छन् । बेलायत सरकारले कोरोना विरुद्धको खोप कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।






