सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतमा एक लेखा अधिकृतलाई १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा सातौँ तहका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की रहेका छन् । उनी सात वर्षदेखि एउटै पालिकामा कार्यरत थिए ।
२०७६ सालमा सो पालिकामा पुगेका कार्की अघिल्लो वर्ष फागुनमा प्रदेश निजामती सेवा ऐनअनुसार सातौँ तहमा बढुवा भएका थिए । बढुवा भएपछि उनी पालिकाको वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए ।
अख्तियारको सुर्खेत कार्यालयको टोलीले कार्कीलाई बिहीबार राति सुर्खेतको एक होटलमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनले गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भए पनि अन्तिम बिल भुक्तानीका क्रममा १ लाख रुपैयाँ घुस लिइरहेको अभियोग लागेको छ ।
कार्की यसअघि पनि मदिरा सेवनका कारण पटक–पटक विवादमा परेको कर्मचारीका रूपमा चर्चित थिए । अख्तियारले घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।






