बीबीसी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सांस्कृतिक साम्राज्यवादबारे भाषण गर्ने क्रममा बोल्दै अफगानहरूले ”दासत्वको बन्धन तोडेको” भनेर टिप्पणी गरेका छन् । पाकिस्तानमा अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको अवस्थालाई आलोचना गर्दै उनले गरेको टिप्पणी तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको भोलिपल्ट आएको छ ।
सन् १९९६ मा अफगान तालिबान सरकारलाई मान्यता दिने तीन राष्ट्रमा एक पाकिस्तान पनि थियो । सोमवार हुने भनिएको राष्ट्रिय सुरक्षा समितिको बैठकमा पाकिस्तानले महत्त्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न हुने सो बैठकमा उच्च सैन्य अधिकारी र गुप्तचर निकायको सहभागिता रहन्छ ।
यसैबीच, धार्मिक आस्थामा आधारित पाकिस्तानका राजनीतिक दलहरू जमात-ए-इस्लामी र जेयूआइ-एफले अफगान तालिबानलाई उनीहरूको पछिल्लो ”सफलता”का लागि बधाई दिएका छन् र अफगानिस्तानमा उनीहरूको आन्दोलनका लागि पूर्ण समर्थन र सहयोग प्रदान गर्ने बताएका छन् ।
अफगानिस्तानमा तालिबानको पुनः नियन्त्रण कायम भएको खुसीयाली मनाउन यी धार्मिक समूहका केही सदस्यले मिठाइ समेत बाँडेका थिए । पाकिस्तानसँग जोडिएका अफगानिस्तानका दुई ठूला नाका पनि तालिबानको नियन्त्रणमा छ । त्यस मध्य एक तोरखाम नाका केही समयका लागि पैदल यात्रुहरूका लागि समेत बन्द गरिएको थियो ।
त्यसपछि त्यहाँको व्यापारिक कारोबार तालिबानले आफ्नो नियन्त्रणमा लिएको थियो । पाकिस्तानले आफ्नो देशमा शरणार्थीहरूलाई प्रवेश गर्न दिएको छैन र यी सीमाको प्रयोग गर्दै अफगानिस्तानका नागरिकहरूलाई मात्रै आफ्नो देश फर्कन दिइएको छ ।






