एजेन्सी । युगान्डाको प्रमुख राजमार्गमा भएको भीषण बस दुर्घटनामा कम्तीमा ६३ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार दुर्घटना मध्यरातपछि कम्पाला–गुलु मोटरवेमा दुई वटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा भएको हो ।
प्रहरीले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा सार्वजनिक गरेको विज्ञप्तिमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ । विज्ञप्ति अनुसार, चालकहरूमध्ये एकले ठक्करबाट जोगिन खोज्दा बस पल्टिएको र त्यसपछि चेन रियाक्सनको रूपमा अरू चार वटा सवारीसाधन पनि नियन्त्रण गुमाएर पल्टिएका थिए ।
प्रहरीले हालसम्म ४३ जनाको मृत्यु औपचारिक रूपमा पुष्टि गरेको छ भने ४० भन्दा बढी घाइतेलाई अस्पताल पुर्याइएको जनाएको छ । गम्भीर घाइतेको संख्या पनि उच्च रहेको बताइएको छ । युगान्डामा ओभरटेकका कारण हुने सवारी दुर्घटनाले बारम्बार ठूलो जनहानि मच्चाउँदै आएको छ । अधिकारीहरूले सुरक्षित सवारी सञ्चालनका लागि चालकहरूलाई सावधानी अपनाउन आह्वान गरेका छन् ।






