काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा कर्णाली याक्सको यात्रा समूह चरणमै टुंगिएको छ । मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुना साथ कर्णाली प्लेअफको होडबाट आधिकारिक रूपमा बाहिरिने पहिलो टिम बन्यो । ६ खेलमा ५ हार झेलेको कर्णालीले जम्मा १ जितसहित २ अंक बटुलेको छ र अंक तालिकामा पुछारतर्फ देखिन्छ । अब जनकपुरविरुद्धको अन्तिम खेल कर्णालीका लागि केवल औपचारिकता बन्न पुगेको छ ।
पहिलो सिजनमा भारतीय स्टार शिखर धवनलाई अनुबन्ध गरेर चर्चा कमाएको यो टिम यस पटक पनि कागजमा त्यति कमजोर थिएन । विदेशी तथा स्थानीय खेलाडीको सन्तुलित संयोजनका कारण कर्णालीलाई कम्तिमा प्लेअफ दाबेदारका रूपमा हेरिएको थियो । तर, मैदानमा प्रदर्शन भने टिमको क्षमतासँग मेल खाएन । अघिल्लो सिजन जस्तै कमब्याकको आशा गर्दा गर्दै कर्णालीले यस पटक त्यसको झलक पनि देखाउन सकेन ।
लुम्बिनीविरुद्ध दोस्रो खेलमा ९ विकेटको सहज जित दर्ता गरेपछि कमब्याकको सम्भावना बढेको थियो । तर त्यसपछि टिमले चारै खेलमा लय गुमायो । विराटनगरविरुद्धको म्याच बाहेक कर्णालीले कुनै पनि खेलमा विपक्षीलाई गम्भीर चुनौतीसमेत दिन सकेन । पोखराविरुद्ध कर्णालीले सिजनकै दोस्रो ठूलो लक्ष्य सामना गर्नुपर्यो भने सिजनकै दोस्रो सानो स्कोर पनि यसै टिमले बनायो, जसले टिमको निरन्तर अस्थिरता स्पष्ट गर्छ ।
टपअर्डर नयाँ समस्याको रूपमा भने देखा परेन । अक्सनपछि भएको आलोचनालाई खेलाडीहरूले मैदानमै जवाफ दिए । प्रियान्क पञ्चाल, म्याक्स ओ’डाउड र मार्क वाटले अधिकांश खेलमा राम्रो सुरुआत दिलाए । वाटबाट आएको शतक र बोसिस्टोको स्थिर इनिङ्ले कर्णालीलाई सुरुआतमा बलियो बनाएको थियो । तर, यी प्रदर्शनले टिमलाई अपेक्षित नतिजा दिलाउन सकेन । मध्यम क्रम र लोअर्डर ब्याटिङमा निरन्तर कमजोरी देखियो, जसले प्रतियोगिताभरै कर्णालीलाई पछाडि धकेल्यो ।
स्पिन विभाग भने कर्णालीका लागि सबैभन्दा गम्भीर समस्या बन्यो । अघिल्लो सिजनमा प्रभावशाली स्पिन आक्रमणको भरोसा दिलाउने विपिन खत्रीसहित स्कटल्याण्डका मार्क वाट र युवराज खत्रीमध्ये कसैले पनि अपेक्षित प्रदर्शन गर्न सकेनन् । पाँच खेलमा विपिनका नाममा २ विकेट मात्र रह्यो भने वाटले ६ खेलमा ४ विकेट निकाल्दै मुख्य स्पिनरको भूमिकामा निराश पारिदिए । आवश्यक क्षणमा विकेट निकाल्न नसक्दा कर्णाली बारम्बार विपक्षीलाई ठूला स्कोर बनाउन दिने गल्ती दोहोर्याइरह्यो ।
फास्ट बलिङतर्फ कप्तान सोमपाल कामी र नन्दन यादवले केही हदसम्म जिम्मेवारी सम्हाले । सोमपालले ६ खेलमा ८ विकेट लिए भने नन्दनले ९ विकेट लिएर लय कायम राखे । तर, दुई खेलाडीको भरमा बलिङ विभागले अपेक्षित धारिलोपन देखाउन सकेन । तेस्रो विकल्पका रूपमा रहेका गुल्सन झाले पनि निरन्तरता दिन सकेनन् ।
अलराउण्डर गुल्सन झा र पवन सर्राफबाट धेरै अपेक्षा गरिएको थियो, तर दुवैले खासै प्रभाव जमाउन सकेनन् । एक खेलमा आक्रामक ४९ रन बनाएका गुल्सनले अन्य खेलमा योगदान दोहोर्याउन सकेनन् । पवन मध्यक्रममा आएर उपयोगी रन त बनाए, तर ठूलो इम्प्याक्ट सिर्जना गर्ने इनिङ् खेलेनन् । दुवैले बलिङमा पनि सीमित प्रभाव मात्र देखाए । यस्तै, दीपक डुम्रे, युनिस सिंह ठकुरी र दीपेन्द्र रावतजस्ता युवा खेलाडीले पनि अवसरलाई प्रभावकारी बनाउन सकेनन् ।
समग्रमा हेर्दा कर्णालीको सिजन सुरुवाती बेमेल, कमजोर मध्यमक्रम, अप्रभावी स्पिन, फिनिसिङको अभाव र रणनीतिमा निरन्तर त्रुटिका कारण बिथोलिएको देखिन्छ । कागजमा बलियो देखिएको टिम मैदानमा निरन्तर दबाब झेल्दै अन्ततः प्रतियोगितामा सबैभन्दा पहिले बाहिरिने टिम बन्न पुग्यो ।






