काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले आगामी २१ जनवरीदेखि नेपालसहित ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाउने निर्णय गरेको छ । मन्त्रालयले आफ्नो स्क्रिनिङ र जाँचका मापदण्डहरू पुनरावलोकन नगरेसम्म कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनी अधिकार प्रयोग गर्दै भिसा अस्वीकार गर्न निर्देशन दिएको छ ।
विदेश मन्त्रालयका अनुसार, यो रोक अनिश्चितकालका लागि लागू हुनेछ र आवश्यक पुनरावलोकन सकिएपछि मात्र हटाइनेछ । रोकको उद्देश्य आप्रवासीहरूले अमेरिका प्रवेश गरेपछि सरकारी सुविधामा निर्भर हुन सक्ने सम्भावनालाई कम गर्नु र सम्बन्धित कानुनहरूको कडाइपूर्वक कार्यान्वयन सुनिश्चित गर्नु रहेको मन्त्रालयले जनाएको छ ।
यस निर्णयले नेपाल, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, भुटान, ब्राजिल, थाइल्यान्ड, यमन, इरान, इराक, नाइजेरिया लगायतका ७५ देशका नागरिकहरूलाई असर गर्नेछ । नयाँ निर्देशन अनुसार, अब भिसा अधिकारीहरूले आवेदकको उमेर, स्वास्थ्य अवस्था, आर्थिक स्रोत, अंग्रेजी भाषा ज्ञान र दीर्घकालीन चिकित्सा उपचार आवश्यकताजस्ता पक्षहरूको विस्तृत मूल्याङ्कन गर्नेछन् ।
अस्ट्रेलिया, अल्बानिया, अल्जेरिया, बंगलादेश, ब्राजिल, भुटान, नेपाल, पाकिस्तान, यमन, इरान, इराक, थाइल्यान्ड, नाइजेरिया लगायत अन्य ७५ देशको सूचीमा उक्त नियम लागू हुनेछ । मन्त्रालयले स्पष्ट पारेको छ कि भिसा आवेदन अस्वीकृत हुने अवस्था केवल स्क्रिनिङ र जाँच प्रक्रिया पूरा नभएसम्म कायम रहनेछ र सबै देशका आवेदकहरूले कानुनी प्रक्रियामा मात्र आवेदन दिन सक्नेछन् ।






