कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि पीडित परिवार र स्थानीय बासिन्दा आन्दोलित बनेका छन् । उचित क्षतिपूर्तिको माग गर्दै उनीहरूले शनिबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
भीमदत्त नगरपालिका १ भाँसी निवासी ६९ वर्षीय भीमबहादुर विष्टको शुक्रबार बिहान बसको ठक्करबाट ज्यान गएको थियो । घटनापछि आक्रोशित आफन्त तथा स्थानीयले महेन्द्रनगर नजिकै भाँसी खण्डमा टायर बाल्दै सडक अवरुद्ध गरेपछि लामो समयसम्म सवारी साधन चल्न सकेनन् ।
कसरी भयो दुर्घटना ?
प्रहरीका अनुसार शुक्रबार बिहान भीमदत्त नगरपालिका ६ स्थित सेती महाकाली पेट्रोल पम्प नजिक बसपार्कबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको सुपप्र ०२–००१ ख १०८३ नम्बरको बसले विष्टलाई ठक्कर दिएको थियो । ठक्करबाट उनी घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनापछि बस चालक कैलालीको गोदावरी नगरपालिका १० मालाखेती खमौरा निवासी ४६ वर्षीय रामबहादुर ताम्राकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित परिवार र स्थानीय बासिन्दाले मृतक परिवारलाई उचित क्षतिपूर्ति, दोषीमाथि कडा कारबाही र सडक सुरक्षाका उपाय अपनाउन माग गरेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।






