डडेलधुरा । जिल्ला प्रहरी कार्यालय डडेलधुरा परिसरसँगै जोडिएको घरमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । भागेश्वर गाउँपालिका ३ घर भई हाल जिल्ला सदरमुकाममा बसोबास गर्दै आएकी सरिता गिरीले त्यहाँको प्रहरी कार्यालयमा सवारी चालकका रूपमा कार्यरत प्रहरी जवान यज्ञ साउदका नाममा सामाजिक सञ्जालमा सुसाइड नोट लेख्दै आत्महत्या गरेकी हुन् । त्यसरी पत्र लेखेर आत्महत्या गरेपछि प्रहरीले सवारी चालक प्रहरीलाई पक्राउ गरेको छ ।
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ४ खलङ्गामा शुक्रबार उनी मृत फेला परेकी हुन् । उनका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा नेपालबाहिर रहेको बुझिएको छ । सुसाइड नोटमा पीडादायी शब्द प्रयोग गर्दै गिरीले “मलाई मर्न बाध्य बनाइस्, मरेर के गर्छस् गर भनिस्” भनेर लेखेकी छन् ।
उनले आफूसँग भएको पैसा र सुन समेत ती प्रहरीले लिएको दाबी गर्दै छोराको भविष्य प्रति गहिरो चिन्ता व्यक्त गरेकी छन् । नोटमा लेखिएको छ, “मसँग भएको सबै पैसा लगिस्, आफ्नो घर बनाइस् । मैले दिएको १५ लाख रुपैयाँ मेरो छोरालाई दिनू । कसैले पढाइदेलान् । आमा भएर जन्म दिए तर तिमीलाई हुर्काउन सकिनँ, छोरा माफ गरिदिनू । तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनु ।”
परिवारजन आएपछि थप कानुनी प्रव्रिmया अघि बढाइने छ । शनिबार बेलुकी मात्रै जाहेरी परेपछि आइतबार बिहान शव पोस्टमार्टमका लागि डडेलधुरा अस्पताल लगिएको छ । मृतक गिरीका कान्छा ससुराले जाहेरी दिएपछि शव पोस्टमार्टमका लागि अस्पताल लगिएको हो । मृतक गिरीका १० र ७ वर्षका दुई छोरा छन् ।






