काठमाडौं । बारा र महोत्तरीमा प्रहरीले अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित लल्का पुल नजिकबाट ९ किलो ७ सय ग्राम गाँजा जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका १९ वर्षीय विनोद मुक्तानसहित दुई जना रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ३१५८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका ३ बाट करिब ७५ ग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका ४ बस्ने ३१ वर्षीय अबिरल परियारसहित चार जना रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले प्र २–०१–००१ च ०४४१ नम्बरको स्कारपियो गाडीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटना बारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।






