काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सञ्जय चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खाद्य उद्योगको अनुमतिपत्र नवीकरण गरिदिने बहानामा सेवाग्राहीलाई अनावश्यक दुःख एवम् हैरानी दिँदै घुस बार्गेनिङ गरी चौधरीले ३० हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।
आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो रकम ३० हजार रुपैयाँ कायम गरी सोही अनुसार जरिवाना तथा सजाय मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
घटना बारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।






