काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा इंग्ल्यान्डको राष्ट्रिय टोलीसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । सन् २०२७–३१ को अन्तर्राष्ट्रिय क्रिकेट चक्रअन्तर्गत नेपाल र इंग्ल्यान्डबीच टी-२० आई सिरिज आयोजना हुने तय भएको हो ।
नेपाल क्रिकेटका लागि ऐतिहासिक मानिएको उक्त सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । इंग्ल्यान्ड टोलीको नेपाल भ्रमणको मिति भने हालसम्म सार्वजनिक गरिएको छैन ।
नेपाल र इंग्ल्यान्डबीच यसअघि पहिलो पटक आईसीसी टी-२० विश्वकपमा प्रतिस्पर्धा भएको थियो । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको समूह चरणको खेलमा नेपाल ४ रनले पराजित भएको थियो । उक्त खेल नेपाली क्रिकेट इतिहासकै रोमाञ्चक खेलमध्ये एक मानिन्छ ।
इंग्ल्यान्डको टोली नेपाल आए यो अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट राष्ट्र टोलीको नेपाल भ्रमण हुनेछ । यसले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
यसअघि टी-२० विश्वकपको तयारीका क्रममा नेपाली टोलीले यूएईमा वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक सिरिज जितेको थियो । त्यसपछि नेपालले विश्व क्रिकेटमा थप चर्चा बटुलेको थियो ।
इंग्ल्यान्डसँग हुने घरेलु सिरिजले नेपाली क्रिकेट समर्थकमाझ ठूलो उत्साह थप्ने अपेक्षा गरिएको छ । साथै, यसले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाको सम्भावना र पूर्वाधार विकासलाई समेत नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।






