सर्लाही । सर्लाहीको बागमती नगरपालिकाकी उपमेयर लीलाकुमारी मोक्तानलाई विशेष अदालतले साधारण तारेखमा राख्न आदेश दिएको छ । शुक्रबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उपमेयर मोक्तानलाई साधारण तारेखमा राख्न आदेश दिएको हो ।
मोक्तानले अदालतमा उपस्थित हुने निवेदन दिएकी थिइन् । थुनछेक बहसपछि अदालतले साधारण तारेखमा राख्न आदेश दिएको हो । ‘भरत ताल’ निर्माणका क्रममा भएको ५८ करोड ६२ लाख रुपैयाँ बराबरको राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दामा अदालतले उनलाई थुनामा नराखी मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावटमा तत्कालीन मेयर भरत थापा र उपमेयर मोक्तानसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सागरनाथ वन विकास परियोजनाअन्तर्गत पर्ने क्षेत्रमा बागमती माछा पोखरी (भरत ताल) निर्माण गर्दा ७ करोड ३८ लाख ९३ हजार क्यूफिट वन पैदावार कानुन विपरीत उत्खनन र बिक्री गरी ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ राजस्व चुहावट गरेको अख्तियारको दाबी छ । यस मुद्दामा तत्कालीन मेयर भरत थापा मुख्य प्रतिवादी हुन् ।
अदालतले उपमेयर मोक्तानलाई साधारण तारेखमा छोडे पनि सोही मुद्दामा जोडिएका अन्य कर्मचारी तथा पदाधिकारीहरूको बयान र थुनछेक बहसको प्रक्रिया जारी रहनेछ ।
मुद्दामा सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुखहरू विशाल घिमिरे, देवेशमणि त्रिपाठी र नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेललगायत १३ जनालाई विपक्षी बनाइएको थियो ।
नगरपालिकाले ताल निर्माणका क्रममा निस्किएको ढुङ्गा, गिटी, बालुवा लगायतका वन पैदावारको रोयल्टी तथा राजस्व नउठाई मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।






