काठमाडौं । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई दुई विकेटले हराउँदै जीत हाँसिल गरेकाे छ ।
पपुवा न्यूगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो शुरुवात दिलाए ।
शेखले ३० र भुर्तेलले १५ रन बनाउँदै पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित पौडेलले सर्वाधिक ४१ रन बनाउँदै नेपालको पारीलाई सम्हाले । अन्त्यतिर सोमपाल कामीले २२ रन बनाए ।
यसअघि पपुवा न्युगिनीले अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो । ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए । सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।
पपुवा न्युगिनीबाट कुनै पनि खेलाडीले अर्धशतक पनि बनाउन सकेनन् । उसका लागि लेगा सियाकाले ३०, चाल्र्स अमिनीले २३ र गौडी टिकाले २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाए ।






