काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा नेपालले दिएको १७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २९ ओभर १ बलमा ४ विकेट गुमाउँदै १७५ रन बनायो ।
अमेरिकाका लागि स्टेभिन टेलोरले ९२ रनको अर्धशतकीय पारी खेले । ६३ बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गरे । अमेरिकाका लागि मोनाङ्क पटेलले ३८ रन बनाउँदा जसकरन मलोत्राले ३६ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरका सम्पूर्ण विकेट गुमाएर १७४ रन बनाएको थियो । नेपालका लागि कप्तान मल्ले अर्धशतकीय पारी खेले । १०५ बल खेलेका मल्लले ३ चौकाको सहयोगमा ५५ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ३६ रनको योगदान गरे ।
नेपालका लागि गुलसन झाले २८ रन बनाउँदा करण केसी १२ तथा सन्दीप लामिछानेले ११ रन र विनोद भण्डारीले १० रनको योगदान गरे । बलिङतर्फ अमेरिकाका लागि कप्तान सौरव नेत्रभालकरले सर्वाधिक ४ विकेट लिए । त्यस्तै केले पिलिप्सले ३ विकेट लिँदा कारिमा गोरे, इलमोर कुटिसन र नठुसन केङ्लीले समान एक–एक विकेट लिए ।






