एजेन्सी । लामो समयपछि यूएईमा प्रारम्भ भएको आईपीएलबाट एउटा चिन्ताजनक खबर बाहिरिएको छ । सनराइजर्स हैदराबादका एक खेलाडी कोरोना पोजिटिभ पाइएका छन् । त्यसपछि उनको सम्पर्कमा आएका छ जना अन्य सदस्यहरुलाई पनि आइसोलेशनमा पठाइएको छ । स्मरणीय छ, आजै साँझ नै सनराइजर्स हैदराबादको दिल्ली क्यापिटल्ससंग खेल हुँदैछ ।
यद्यपि, आजको खेलमा त्यसको कुनै प्रभाव पर्ने छैन र आज निर्धारित समयमै खेल खेलाइने छ । सनराइजर्स हैदराबादका बलर टी.नटराजन कोरोना पोजिटिभ पाइएका हुन् । खेल प्रारम्भ हुनुभन्दा अघि गरिएको आरटी पीसीआरबाट उक्त नतिजा आएको छ । त्यसपछि उनको सम्पर्कमा आएका खेलाडी तथा कर्मचारीलाई आइसोलेशनमा राखिएको छ ।
आइसोलेशनमा राखिएका सदस्यहरुमा विजय शंकर (खेलाडी), विजय कुमार (टिम मेनेजर), श्याम सुन्दर (फिजियो), अञ्जना वन्नन (डाक्टर), तुषार खेडकर (लजिस्टिक मेनेजर), पी.ए.गणेशन (नेट बलर) छन् । टीमका बाँकी सदस्य तथा स्टाफहरुको पनि आरटी पीसीआर गरिएको छ, जसमा सबैको नतिजा नेगेटिभ आएको छ ।
यसअघि आईपीएलको यो सीजनको प्रारम्भमा पनि कोरोनाले नै दु:ख दिएको थियो । त्यो बेला भारतमा यो प्रतियोगिता सञ्चालन गरिएको थियो । कोरोनाकै कारण आईपीएललाई बीचैमा स्थगित गरिएको थियो । यूएईमा १९ सेप्टेम्बरदेखि नै आईपीएल पुन: प्रारम्भ भएको छ । आईपीएल प्रारम्भ भएको दुई दिनमै खेलाडीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।






