एजेन्सी । कोलकाता नाइटराइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधि जितेको छ । दुबईमा शुक्रबार आयोजित खेलमा २ पटकको च्याम्पियन कोलकातालाई २७रनले हराउँदै चेन्नई चौथो पटक च्याम्पियन बनेको हो ।
आईपीएलमा महेन्द्रसिंह धोनीको टिम दोस्रो सफल टिम भएको छ । मुम्बई इन्डियन्सले सबैभन्दा बढी ५ पटक आईपीएलको उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले कोलकातालाई १९३ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा निर्धारित २० ओभरमा कोलकाताले १६५ रन मात्र बनाउन सक्यो ।
चेन्नईले ओपनिङ ब्याट्सम्यान फाफ डू प्लेसीको ८६ रनको योगदानमा १९२ रन बनाएको हो । त्यस्तै कोलकाताका लागि शुभमन गिलले ५१ र वेकंटेश अय्यरले ५० रन बनाए ।
यसअघि चेन्नईले २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो । २०११ मा चेन्नईले बेंगलोरलाई ५८ रनले पराजित गर्दै लगातार उपाधि जितेको थियो ।
२०१८ मा हैदराबादलाई ८ विकेटले पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो ।
चेन्नई लिगमा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । क्वालिफायरमा चेन्नईले शीर्षस्थानको दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।
कोलकताले अन्तिम चारमा रहेर एलिमिनेटर खेलेको थियो । एलिमिनेटरमा कोलकताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा दिल्लीलाई ३ विकेटले पराजित गर्दै कोलकताले तेस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।






