काठमाडाैं । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरूकाे सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएको उल्लेख गरिएको थियो भने बिहीबार त्योभन्दा चार हजार बढी देखिएको छ ।
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ सङ्क्रमित थपिएका हुन । सोही अवधिमा १७ हजार ५१६ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय संक्रमितहरूको सङ्ख्यामा पनि बृद्धि भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या एक लाख ७८ हजार ८३१ रहेको जनाएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको कूल संख्या तीन करोड ३४ लाख ९५ हजार ८०८ पुगेको मन्त्रालयले जनाएको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १०० करोडभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।
यस्तै बेलायतमा कोेरोनाबाट एकै दिनमा करिब ५० हजार जना सङ्क्रमित भएका छन् । प्राप्त समाचार अनुसार गएको २४ घन्टायता मात्र यहाँ थप ४९ हजार १३९ जना कोरोना सङ्क्रमित भएका छन् । यहाँ तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धेरै सख्यामा सङ्क्रमित भेटिएका बताइएको छ । बुधबार यहाँ यति धेरै सङ्क्रमितहरु भेटिएपछि बेलायतका अधिकारीहरुले यहाँ कोरोना संक्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार पनि यहाँ ४९ हजार जना संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका थिए ।
यहाँ देखिएको यो संख्या महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहीदिनमा संक्रमण झन् बढेको पाइएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या करिब ८५ लाख ८९ हजार पुगेको पनि जनाएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १७९ जनाको निधन भएको छ । यो समेतगरी १ लाख ३९ हजारभन्दा धेरै मानिसको यो संक्रमणबाट ज्यान गएको हो ।






