एजेन्सी । आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानका स्पिनर राशिद खानले शुक्रबार पाकिस्तानविरुद्धको खेलमा कीर्तिमान बनाएका छन् । उनी टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो एक सय विकेट लिने बलर बनेका हुन् ।
अफगानिस्तानका स्पिनर खानले श्रीलंकाका पूर्व लिजेन्ड लसिथ मालिंगाको कीर्तिमान तोडेका हुन् । राशिदले शुक्रबार पाकिस्तानविरुद्ध पहिलो विकेट लिएसँगै यो विश्व कीर्तिमान बनाएका हुन् । योसँगै एकदिवसीय र टी-२० दुवैमा सबैभन्दा छिटो विकेटको शतक बनाउने कीर्तिमान उनले आफ्नो नाममा लेखाएका छन् ।
पाकिस्तान र अफगानिस्तानबीचको आईसीसी टी-२० विश्वकपको २४ औँ खेल महत्वपूर्ण मानिएको थियो । बलिङमा अद्भूत रहेको अफगान टोलीका कप्तान मोहम्मद नाबीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । खराब सुरुवातपछि पनि टिमले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।
लक्ष्य पछ्याउँदै पाकिस्तानका लागि दुई महत्वपूर्ण विकेट लिएर राशिदले आफ्नो विकेटको संख्या एक सय नाघेका थिए । पाकिस्तानविरुद्धको खेलमा प्रवेश गर्नुअघि ९९ टी-२० अन्तर्राष्ट्रिय विकेट लिने रासिशद सबैभन्दा छिटो यो स्थान हासिल गर्ने खेलाडी बनेका हुन् ।
एक सय विकेटको रूपमा हाफिज आउट
राशिदले पाकिस्तानको इनिङ्सको १५ औं ओभरको पहिलो बलमा आफ्नो एक सय औं टी-२० विकेट लिएका थिए । उनले १४ दशमलव १ बलमा १० रन बनाएर मोहम्मद हफिजलाई गुलबदिन नाइबको हातमा क्याच आउट गरे । यसपछि उनले अर्धशतक बनाएर ब्याटिङ गरिरहेका कप्तान बाबर आजमलाई क्लिन-बोल्ड गरे । उनी ४७ बलमा ५१ रन बनाएर फर्किए ।
सबैभन्दा छिटो एक सय टी-२० अन्तर्राष्ट्रिय विकेट
मालिंगाले ७६ खेल खेलेर टी-२० अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गरे भने राशिदले ५३ खेल खेलेर यो उपलब्धि हासिल गरेका छन् । बंगलादेशका शकिब अल हसनले ८४ खेलमा यो स्थान हासिल गरेका थिए ।
न्युजिल्यान्डका टिम साउथीले पनि सोही खेलमा एक सय टी-२० अन्तर्राष्ट्रिय विकेट पूरा गरेका थिए । राशिदले यस फर्म्याटमा ४४ ओडीआई खेलेर आफ्नो एक सय विकेट पूरा गरेका छन् ।






