एजेन्सी । टी-२० विश्वकपमा शनिवार खेलिएको मिनी एशेज प्रतिस्पर्धामा इङ्ल्याण्डले बाजी मारेको छ । अस्ट्रेलियाको टीम प्रारम्भमा बलरहरुसँग असफल भयो भने पछि जोश बटलरको विष्फोटक ब्याटिङमा पराजित हुन पुग्यो । इङ्ल्याण्डले केवल १२ औं ओभरमा १ सय २६ रनको लक्ष्य हासिल गर्यो । इङ्ल्याण्डको तर्फबाट जोश बटलले ३२ बलमा ७१ रन बनाए । त्यसक्रममा उनले ५ छक्का तथा ५ चौका प्रहार गरे । इङ्ल्याण्डको तर्फबाट उक्त इनिङ कुल ८ छक्का प्रहार भए ।
इङ्ल्याण्डले केवल जेसन राय तथा डेविड मलानको विकेट गुमायो । जोनी बेयरस्ट्रोले पनि आउने बित्तिकै दुई छक्का प्रहार गरे । अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै १२५ रन बनाएको थियो । इङ्ल्याण्डले प्रारम्भदेखि नै अस्ट्रेलियाको विकेट झार्न थालेको थियो । अस्ट्रेलियाको तर्फबाट क्रिस जोर्डन तथा माइल्सले उत्कृष्ट बलिङ गरे । इङ्ल्याण्ड तथा अस्ट्रेलियाका टीम समुह–१ मा छन्, दुबै टीमले अहिलेसम्म ३–३ वटा खेल खेलिसकेका छन् ।
इङ्ल्याण्डको यो लगातार तेस्रो जित हो, अस्ट्रेलियाको यो प्रतियोगितामा पहिलो हार हो । समुह–१ मा इङ्ल्याण्ड पहिलो स्थानमा छ भने अस्ट्रेलिया तेस्रो स्थानमा छ । त्यसैगरी अर्को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई चार विकेटले हराएको छ । यूएईको शारजाहमा श्रीलंकाले दिएको एक सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १ बल बाँकी छँदै भेट्टायो । दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा १५ रन चाहिएकोमा डेभिड मिलरले २० औँ ओभरको दोस्रो र तेस्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जिताए ।
श्रीलंकाका बानिन्दु हसरंगाले ह्याट्रिक विकेट लिए । यस्तै दुश्मन्था चमिराले दुई विकेट लिए । आजको हारसँगै श्रीलंकालाई सेमिफाइनल पुग्न मुश्किल देखिएको छ । दक्षिण अफ्रिका भने चार अंकका साथ तेस्रो स्थानमा पुगेको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा अलआउट हुँदै एक सय ४२ रन बनायो । उसका लागि पथुम निशंकाले सर्वाधिक ७२ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शम्सी र डवाइन प्रेटोरियसले तीनरतीन विकेट लिए ।






