एजेन्सी । जारी टी–२० विश्वकप क्रिकेटमा भारतले खराब लय कायम गरेको छ । भारतले लगातार दोस्रो हार व्यहोरेको हो । आइतबार राति सम्पन्न खेलमा भारतले न्यूजिल्यान्डसँग ८ विकेटको फराकिलो हार व्यहोरेको हो ।
न्यूजिल्यान्डले टस जितेर भारतलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो । त्यसपछि भारतले १११ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । न्यूजिल्यान्डले सो लक्ष्य १४.३ ओभरमै २ विकेट गुमाएर भेट्टयो ।
न्यूजिल्यान्डका लागि डायरिल मिचेलले ४९ तथा केन विलियम्सनले ३३ रन जोडे । त्यस्तै मार्टिन गुप्टिलले २० रनको योगदान गरे । भारतका लागि जसप्रित बुम्राहले २ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११० रन बनाएको थियो । उसका लागि रविन्द्र जडेजाले १९ बलमा २६ रन बनाउनबाहेक अन्य ब्याट्समेनले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् ।
त्यस्तै हार्दिक पान्ड्याले २३ तथा केएल राहुलले १८ रन जोडे । भारतलाई रोक्न उत्कृष्ट बलिङ गरेका न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले ३ विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चिदै ३ विकेट लिएका हुन् । त्यस्तै इश सोधीले २ विकेट लिए ।
भारत यसअघि पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो भने न्यूजिल्यान्डले पहिलो जित निकालेको हो । न्यूजिल्यान्ड पनि पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।






