काठमाडाैं । भारतीय जनता पार्टीका नेता तथा पूर्व एमएलसी विक्रम रन्धावाले टी–२० विश्वकपमा भारतको पराजयको खुशी मनाउनेहरूविरुद्ध दिएको बयानलाई लिएर जम्मू कश्मीरमा विवाद चर्किएको छ ।
अङ्ग्रेजी अखबार इन्डियन एक्सप्रेसका अनुसार विक्रम रन्धावाले भारतको हारको खुशी मनाउनेलाई कुटपिट गरेर मात्र नभई उनीहरुको भारतीय नागरिकता पनि खारेज गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा विक्रम रन्धावाको एउटा भिडियो भाइरल भएको छ जसमा उनले यस्तो अभिव्यक्ति दिएको देखिएको छ ।
रन्धावाले भने, ‘जम्मुमा बुर्का र कश्मीरमा ज्याकेट लगाएर हिँड्ने २२-२३ वर्षका केटीहरूले हावामा उचालेर पाकिस्तान जिन्दाबादको नारा लगाइरहेका छन् । यी २१-२२ वर्षका केटीहरूले आफ्नो नसामा पाकिस्तानप्रति स्नेह देखाएका छन् । उनीहरूले किन पाकिस्तानको दोस्रो जित मनाएनन् ।’
उनले थप भनेका छन्, ‘यीनीहरूकाे यस्ताे हालत बनाइयाेस् कि भारतमा बसेर, भारतको विरुद्धमा नारा लगाउने वा अर्को देशको पक्षमा हलाहल मच्चाउँदा के हुनसक्छ भन्ने कुरा आउने पुस्ताले पनि याद गरून् । उनीहरूले कस्तो सन्तान जन्माए भन्ने कुरा उनीहरूका अभिभावकले पनि बुझ्नुपर्छ । यदि व्हाट्सएपमा तीन तलाक दिइन्थ्याे भने नमाज पनि व्हाट्सएपमा पढ्नुहाेस्, किन सडकमा पढ्नुहुन्छ ।’
उनको यस भनाइको मुस्लिम समुदायले चर्को विरोध गरेको छ । उनलाई कारबाही गर्न धेरैले प्रहरीसँग माग गरेकाे बीबीसीले उल्लेख गरेकाे छ । विक्रम रन्धावाले यो भिडियोबारे स्पष्टिकरण दिँदै पत्रिकासँग भनेका छन्, ‘भिडियोमा भनाइलाई गलत सन्दर्भमा देखाइएको छ ।’
बीजेपीका प्रवक्ता सुनिल सेठीले यो रन्धावाको व्यक्तिगत भनाई भएको बताए । ‘हामी सबै क्षेत्रको समावेशी विकास चाहन्छौँ । हाम्रो लागि, जम्मू र कश्मीरका सबै भागका मानिसहरू समान रूपमा महत्त्वपूर्ण छन् र हामी सम्पूर्ण केन्द्र शासित प्रदेशमा शान्ति र प्रगति चाहन्छौँ,’ उनले भने ।






