एजेन्सी । युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल अन्तिम १६ मा स्थान बनाउँदा एफसी पोर्टाे र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले दुई खेल बाकी रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे । ३६ औं मिनेटमा फिलिपेले सिधै रातो कार्ड ब्यहोरेपछि एट्लेटिको म्याड्रिड १० खेलाडीमा समेटिन पुग्यो । समूह ‘बी’ को अर्काे खेलमा इटालियन सिरी ए क्लब एसी मिलान र पोर्चुगिज क्लब एफसी पोर्टाेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पोर्टाेका लुइस डियाजले खेलको ६ मिनेटमा गोल गर्दा चान्सेल मबेम्बाले आत्माघाती गोल गरे ।
समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलले ४ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा छ । एफसी पोर्टाे ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा पराजित एट्लेटिको ४ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । मिलानले भने समूहमा पहिलो अंक जोडेको छ । त्यस्तै युईएफए च्याम्पियन्सलिग अन्तर्गत समूह ‘ए’ को खेलमा म्यानचेस्टर सिटीले जित हात पार्दा पेरिस सेण्ड जर्मेन (पीएसजी) भने बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको फरक खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले बेल्जियम शीर्ष क्लब ब्रगलाई ४–१ गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा पुगेको हो । घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन फिल फोडेन, रियाद माहरेज, रहिम स्टर्लिङ र गाब्रियल जेसुसले एक एक गोल गरे । सिटीकै जोन स्टोनिसले आत्मघाती गोल गरे । यता, समूह ‘ए’ कै अर्काे खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन बुण्डेसलिगा आरबी लाईपजिगसँग २–२ को बराबरीमा रोकियो ।
स्टार खेलाडी लियोनल मेस्सी बिना मैदान उत्रिएको पीएसजी २–१ को अग्रता जोगाउन नसक्दा अन्तिम समयमा बराबरीमा रोकियो । पीएसजीको लागि जर्जिनिओ विज्नाल्डुमले दुई गोल गरे । यता, लाईपजिगको लागि क्रिस्टोफर नकुन्कु र डोमिनिक सजोबोक्जिअलले पेनाल्टी गोल गरे । खेलसँगै समूह ‘ए’ मा सिटी ४ खेलबाट ९ अंक सहित शीर्षस्थानमा छ । २ जित र २ बराबर सहित अपराजित रहेको पीएसजी ८ अंकका साथ दोस्रो स्थानमा छ । यता, ४ अंक जोडेको क्लब ब्रग तेस्रो स्थानमा रहँदा एक अंक जोडेको लाईपजित पुछारमा छ ।






