एजेन्सी । आईसीसी टी-२० विश्वकपमा दुई टीमले सेमिफाइनल यात्रा तय गरिसकेका छन् भने बाँकी दुई स्थानका लागि भारत सहित ५ टोली प्रतिस्पर्धामा छन् । सुपर-१२ का पाँच खेल बाँकी रहँदा समूह-१ बाट इङ्ल्यान्ड र समूह-२ बाट पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
दुवै टोलीका एक/एक खेल मात्रै बाँकी छन् । अबका खेल हारे पनि दुवै टीम सेमिफाइनल पुग्नेछन् । समूह-१ बाट चार खेलमा आठ अङ्क जोड्दै इङ्ल्यान्ड शीर्षस्थानमा छ । इङ्ल्यान्डले अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ । त्यो खेल हारे पनि रनरेटका आधारमा सेमिफाइनल पुग्नेछ ।
त्यस्तै, समूह-२ को पाकिस्तानले पनि चार खेलमा आठ अङ्क जोडेको छ । अन्तिम खेलमा स्कटल्यान्डसँग हारे पनि सेमिफाइनल यात्रा पक्का भइसकेको छ । समूह-१ का श्रीलङ्का, वेस्ट इन्डिज र बाङ्लादेशको सेमिफाइनल यात्रा सकिएको छ ।
बाङ्लादेशले कुनै पनि खेल जित्न सकेन भने श्रीलंकाको चार अङ्क मात्रै छ । एक खेल बाँकी रहेको वेस्ट इन्डिजको दुई अङ्क मात्रै छ । यो समूहबाट सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धामा छन् । दुवै टोलीले खेलेका चार खेलमध्ये तीनमा जित र एकमा हार बेहोर्दै ६/६ अङ्क बटुलेका छन् ।
अब अन्तिम खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजको र दक्षिण अफ्रिकाले इङ्ल्यान्डको सामना गर्नेछन् । हार्ने टोलीको यात्रा सकिनेछ । दुवै टोलीले जित्दा पनि रनरेटका आधारमा सेमिफाइनल यात्रा तय हुनेछ ।
त्यस्तै, समूह-२ बाट भने स्कटल्यान्ड र नामिबिया बाहिरिएको छ । अहिलेसम्म स्कटल्यान्डले खेलेका चारै खेलमा हार ब्यहोरेको छ । अबका एक खेल जित्दा पनि उसको दुई अङ्क मात्रै हुनेछ । यो समूहबाट अफगानिस्तान, न्यूजिल्यान्ड र भारतको सम्भावना जीवितै छ ।
न्यूजिल्यान्डको चार खेलबाट ६ अङ्क छ भने अफगानिस्तान र भारतको चार/चार अङ्क छ । त्यस्तै नामिबियाको दुई अङ्क रहेको छ । न्यूजिल्यान्डले सेमिफाइनल पुग्नका लागि अफगानिस्तानलाई पराजित गर्दा हुनेछ । न्यूजिल्यान्ड विजयी भएमा अन्य टोलीको सम्भावना सकिनेछ ।






