एजेन्सी । आईसीसी टी-२० विश्वकप क्रिकेटमा डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिज समूह चरणबाटै आउट भइसकेको छ । अस्ट्रेलियाविरुद्धको समूह चरणको अन्तिम खेलमा पराजित भएसँगै उसको यात्रा समाप्त भएको हो ।
आजको यो खेल अस्ट्रेलियाका लागि भने निकै महत्वपूर्ण रह्यो । आजको खेल पश्चात ड्वान ब्राभोले पहिला नै सन्यास घोषणा गरेकाले उनको अन्तिम खेल रह्यो । तर, उनीभन्दा अगाडि देखि वेस्टइन्डिजका लागि खेल्दै आएका क्रिस गेलको पनि अन्तिम खेलको रुपमा भविष्यवाणी गरिएको छ ।
यस विषयमा युनिर्भसल बोस गेलले भने कुनै प्रतिक्रिया दिएका छैनन् । अस्ट्रेलियाविरुद्ध आउट भए लगत्तै उनले हेलमेट निकालेर सबैलाई अभिवादन गरेका थिए । यसैगरी सबै खेलाडीसँग पनि अंकमाल गरेका कारण पनि उनले सन्यास लिएको अनुमान गरिएको छ ।
विश्वका हरेक जसो फ्रेन्चाइज क्रिकेट खेलेको हार्ड हिटर ब्याटर गेलले हालै दुबईमा भएको इन्डियन प्रिमियर लिग पनि टी-२० विश्वकपका लागि तयारी गर्न भन्दै बीचमै छाडेका थिए । अस्ट्रेलियाविरुद्ध ओपनिङ गरेका गेलले १५ रन बनाएर आउट भएका थिए । उनले ९ बल फेस गर्दा २ छक्का पनि प्रहार गरेका थिए ।
गेललाई पेट कमिन्सले आउट गरेका थिए । ४२ वर्षिय गेल जारी विश्वकप खेल्ने सर्वाधिक पाका खेलाडी पनि हुन् । वेस्टइन्डिजबाट यु १९ क्रिकेट पनि खेलेका गेलले समग्रमा ३५ टिमबाट क्रिकेट खेलेका छन् । उनले टेस्ट क्रिकेटमा दुई पटक तेहोरो शतक बनाएका छन् । १०३ टेस्ट म्याचमा ७ हजार २ सय १४ रन बनाएका छन् ।
यसैगरी ३०१ एक दिवसीय क्रिकेटमा १० हजार ४८० रनको योगादन गरेका छन् भने ७९ टी-२० मा १ हजार ८ सय ९९ रन जोडेका छन् । उनले सन् १९९९ मा भारतविरुद्ध डेब्यु गरेका थिए । गेलले टेस्टमा ७३ विकेट लिँदा एक दिवसीयमा १६७ विकेट हात पारेका छन् । यसैगरी टी २० मा उनले २० विकेट लिएका छन् ।






