एजेन्सी । न्युजिल्याण्डमा आज (आइतबार) देखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै आजदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो । इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनुपर्ने पहिलो सर्त छ ।
कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन् । यो प्रक्रियाका लागि कम्तीमा दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ । इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
हालै इच्छा मृत्युको मुद्दामा गरिएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी भोट यसको पक्षमा परेको थियो । न्युजिल्याण्डमा लामो समयदेखि यस मुद्दामा बहस जारी रहेको थियो ।
योसँगै न्युजिल्याण्ड ती सीमित देशहरूको सूचीमा परेको छ जहाँ इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ । यस सूचीमा स्वीटजरल्याण्ड, नेदरल्याण्ड, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बिया सामेल छन् । यी देशहरूमा मृत्युका लागि सहयोग गर्नका लागि फरक–फरक नियम र सर्तहरू बनाइएको छ ।






