एजेन्सी । टि-२० क्रिकेट विश्वकपको सुपर १२ मा पाकिस्तानले शतप्रतिशत नतिजा निकालेको छ । युएईमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको समूह २ को अन्तिम खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान समूह विजेता बनेको हो ।
पाँच खेल खेलेको पाकिस्तानले सबै खेल जितेको छ । पाकिस्तान जारी विश्वकपमा शतप्रतिशत जितको नतिजा निकाल्न सफल एकमात्र टोली हो । यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको पाकिस्तानले अब फाइनल प्रवेशका लागि समूह १ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । सो खेल ११ नोभेम्बरमा दुबईमा हुनेछ ।
अर्को सेमिफाइनलमा समूह १ को विजेता इंग्ल्याण्डले समूह २ को उपविजेता न्युजिल्याण्डसँग खेल्नेछ । समूह २ को अन्तिम खेलमा मंगलबार भारत र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । समूहबाट पाकिस्तान र न्युजिल्याण्डले सेमिफाइनलको यात्रा पक्का गरिसकेका कारण भारत र नामिबियाबीचको खेलको प्रतियोगितामा कुनै अर्थ रहने छैन । यो खाली प्रतिष्ठाका लागि मात्र हुनेछ ।
समूह २ का सबै पाँच खेलमा जित हासिल गरेको पाकिस्तान १० अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै, न्युजिल्याण्ड आठ अंकका साथ दोस्रो, भारत र अफगानिस्तान समान चार अंकका साथ तेस्रो तथा चौथो स्थानमा छन् ।
भारत रनरेटमा अगाडि भएकाले तेस्रो स्थानमा छ । चार खेलमा दुई अंक जोडेको नामिबिया पाँचौं स्थानमा छ । यसैगरी, सबै पाँचै वटा खेलमा हार भोगेको स्कटल्याण्ड विनाअंक पुछारमा छ ।
आइतबार नै भएको पहिलो खेलमा न्युजिल्याण्डले अफगानिस्तानमाथि आठ विकेटको जित हासिल गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । उक्त जितसँगै न्युजिल्याण्डले आठ अंकका साथ पाकिस्तानसँग अंक बराबरी गरेको थियो । न्युजिल्याण्ड नेट रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा उक्लिएको थियो ।
तर, अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १८९ रन बनाएको थियो । एक सय ९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा आएको स्कटल्याण्डले ६ विकेटको क्षतिमा ११७ रन मात्र बनाउन सक्यो ।
स्कटल्याण्डलाई लक्ष्यमा पुग्न नदिन पाकिस्तानका साडब खानले दुई तथा साहिन शाह अफ्रिदी, हरिस रौफ र हसन अलीले समान एक–एक विकेट लिए । स्कटल्याण्डका लागि रिची बेरिङटनले अविजित रहँदै अर्धसतक बनाए । उनले सर्वाधिक ५४ रन बनाए ।
यसैगरी, ओपनर जर्ज मन्सीले १७ तथा मिचेल लिस्कले १४ रनको योगदान गरे पनि अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न नसक्दा स्कटल्याण्ड लक्ष्यमा पुग्न सकेन । यसअघि, पाकिस्तानका लागि कप्तान बाबर आजमले ६६ रनको योगदान गरेका थिए ।
त्यस्तै, प्लेयर अफ दि म्याच सोएब मल्लिकले अविजित रहँदै ५४ तथा मोहम्मद हाफिजले ३१ रनको योगदान दिएपछि पाकिस्तानले १८९ रन बनाउन सफल भएको थियो । स्कटल्याण्डका क्रिस ग्रिब्सले दुई विकेट तथा हाज्मा ताहिर र साफयान सरिफले एक–एक विकेटमा लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।






