एजेन्सी । कार्यालय समयपछि अब बोसले कर्मचारीलाई फोन वा मेसेज गर्नु अब गैरकानूनी हुनेछ । पोर्चुगलमा यसका लागि कानून नै बनाइएको छ । यसअन्तर्गत कार्यालयको समय सुरु हुनु अघि वा समाप्त भएपछि कर्मचारीलाई कामका लागि फोन, मेसेज वा इमेल गर्ने बोसलाई सजाय दिइनेछ ।
डेली मेलको रिपोर्ट अनुसार पोर्चुगलको संसदमा पारित गरिएका नयाँ नियम अन्तर्गत यदि कम्पनीले कार्यालय समयपछि वा बिदाका बेला आफ्ना कर्मचारीलाई फोन वा इमेल गर्छ भने यसले दण्डको सामना गर्नुपर्ने हुन्छ । कोभिड–१९ महामारीपछि बढेको वर्क फ्रम होम कल्चरपछि देशको सत्तारुढ पार्टीद्वारा यो नयाँ श्रम कानून पेश गरिएको हो ।
यो कानून अन्तर्गत वर्क फ्रम होमका बेला कम्पनीले बिजुली र इन्टरनेटको बिल आदि खर्चको भुक्तानी पनि गर्नुपर्नेछ । नयाँ नियम अनुसार यदि कुनै कर्मचारीको बच्चा सानो छ भने उनले बच्चा ८ वर्ष हुञ्जेलसम्म घरबाटै काम गर्न सक्ने प्रावधान पनि छ । यद्यपि, पोर्चुगलको श्रम कानूनमा भएको यो संशोधन १० भन्दा कम कर्मचारी भएका कम्पनीमा भने लागू हुने छैन ।
पोर्चुगलको श्रम र सामाजिक सुरक्षामन्त्री एना मेन्डेस गोडिन्होका अनुसार कोरोना महामारीका बेला वर्क फ्रम होम नयाँ वास्तविकता बनेको छ । त्यसैले रिमोट वर्किङलाई थप बढी सहज बनाउनका लागि यो अध्यादेश ल्याइएको हो ।
उनका अनुसार यस्ता खालको कानून थुप्रै युरोपेली देशमा छ । फ्रान्स, इटली र स्लोवाकियामा यस्ता श्रम कानूनको अनुमति दिइएको छ । यस्तोमा पोर्चुगलमा कर्मचारीलाई फिट र स्वस्थ राख्नका लागि सरकारले यस्तो कदम अघि सारेको हो ।




