एजेन्सी । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई बेलायतको लण्डनस्थित बेलमार्श जेलमा आफ्नो प्रेमिका स्टेला मोरिससँग विवाह गर्ने अनुमति दिइएको छ । असान्ज र स्टेलाका दुई सन्तान छन् जसको नाम ग्याब्रिएल र मार्क्स छन् ।
स्टेलाका अनुसार दुवैकाे जन्म असान्जको इक्वेडोरको दूतावासमा रहँदा भएकाे थियाे । कारागारका अधिकारीहरूका अनुसार असान्जको निवेदनलाई कारागारका गभर्नरले नियम अनुसार नै विचार गरेका हुन् । स्टेला मोरिसले उनीहरूको विवाहमा अब कुनै हस्तक्षेप नहुने विश्वास व्यक्त गरेकि छिन् ।
विवाह ऐन, १९८३ अन्तर्गत कैदीहरूले विवाहको सम्पूर्ण खर्च आफैँले व्यहोरेमा मात्र जेलमा विवाह गर्न पाउनेछन् । दक्षिण अफ्रिकी मूलकी वकिल स्टेला मोरिसले गत वर्ष एक अन्तर्वार्तामा आफू सन् २०१५ देखि असान्जसँग सम्बन्धमा रहेको र आफ्ना दुई सन्तानलाई आफू एक्लैले हुर्काइरहेको बताएकि छिन् । असान्जसँग उनको पहिलो भेट २०११ मा भएको थियो ।
उनी असान्जलाई दिनहुँ दूतावासमा भेट्ने गर्थिन् । यस अवधिमा उनले असान्जलाई राम्ररी चिनेकी थिइन् । सन् २०१५ मा दुवै प्रेममा परे, जसको दुई वर्षपछि दुवैले इन्गेजमेन्ट गरेका थिए ।
५० वर्षीय असान्जलाई जासुसीको आरोप लागेको छ, उनी अमेरिकामा सुपुर्दगीसँग सम्बन्धित मुद्दा लडिरहेका छन् । अफगानिस्तान र इराक युद्धसँग सम्बन्धित हजारौं लिक दस्तावेजलाई विकिलिक्समा छापिएपछि राष्ट्रिय सुरक्षासँग जोडिएका जानकारी एकत्रित गरेको र छापेको षड्यन्त्रको आरोपमा अमेरिका असान्जमाथि मुद्दा चलाउन चाहन्छ ।
अप्रिल सन् २०१० मा जुन जानकारी विकिलिक्समा छापिएको थियो त्यसमा इराकमा एक हेलिकोप्टरबाट अमेरिकी सैनिकले सर्वसाधारणलाई गोली हानेको फुटेज संलग्न थियो । असान्जले सन् २०१२ मा स्विडेनमा एक यौन अपराध मामिलामा प्रत्यर्पणबाट बच्नका लागि लण्डनमा भएको इक्वाडोरको दूतावासमा शरण लिए । यो मुद्दा अहिले समाप्त भइसकेको छ ।
उनले आफूमाथि लागेको यौन अपराधको आरोप अस्विकार गर्दै आइरहेका छन् । जमानतको शर्तको उल्लंघन गरेको आरोपमा असान्जलाई सन् २०१९ मा इक्वाडोर दूतावासबाट जबरजस्ती निकालिएको थियो । त्यसपछि उनलाई बेलमार्श जेलमा राखिएको छ ।




