एजेन्सी । उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावको प्रचार-प्रसारमा सबै राजनीतिक दल जाेडताेडले लागि परेका छन् भने अर्काेतर्फ यस पटककाे यूपी चुनावमा बलिउडका अभिनेत्रीहरू पनि निर्वाचनमा उठेका छन् ।
मिस इन्डिया मोस्ट पपुलर फेस २०१८ रचना सिंह यदुवंशीले वाराणसीमा प्रियंका गान्धीलाई टक्कर दिएर यसको सुरुवात गरेकी छिन् । आफ्नो एउटा सुटिङका क्रममा वाराणसी पुगेकी रचना सिंह यदुवंशीले काशीमा भएका विकास कार्यहरू र यूपीमा महिला सशक्तिकरणको प्रशंसा गरिन् । यससँगै उनले देशमा हुने बालिका बलात्कार जस्ता घटनामा कडा कानुन ल्याउने कुरा गरिन् ।
रचना सिंह यदुवंशीले भनेकी छिन् – ‘यदि प्रियंका गान्धी साँच्चै महिला र किशाेरीहरूलाई अगाडि बढाउन चाहन्छिन् भने उनले केहि यस्ताे गर्नुपर्छ, जुन सबैले विश्वास गर्न सकून् । अचानक उनी जसरी राजनीतिमा आएकी हुन् । यदि म राजनीतिमा आए भने उनले भन्दा धेरै भाेट पाउने छु । मलाई सपा–भाजपाबाट अफर आइरहेको छ ।’
गाजीपुरको जमानिया निवासी रचना सिंहले आफ्नो सम्पूर्ण शिक्षा वाराणसीबाट गरेकी थिइन् । उनी २०१८ मा मिस इन्डिया पपुलर फेस, २०१८ मा मिस काशी र २०१८ मा मिस युपी बनिन् । रचनाले टिभि सिरियल ‘तितलिया’ मा मुख्य कलाकारको रुपमा काम गरिन् । अहिले बलिउड र साउथका २ वटा चलचित्रको सुटिङ भैरहेको छ ।
रचना सिंह यदुवंशीले आफूलाई भाजपा–सपा जस्ता दलले निरन्तर सम्पर्क गरिरहेको दाबी गरेकी छन् । कांग्रेस महासचिव प्रियंका गान्धीको खिल्ली उडाउँदै रचनाले भनिन्, ‘५५ वर्षीया महिला भन्छिन् म केटी हुँ, त्यसाे भए म के हुँ त ? यदि मैले अवसर पाएँ भने उनीविरुद्ध लड्नेछु र जित्ने छु पनि ।’






