एजेन्सी । युरोपेली देशहरूमा फेरि कोभिड संक्रमणमा तीब्र बृद्धि भएको छ । बेलायत, इटाली, जर्मनी, नेदरल्यान्ड्स, अस्ट्रियालगायतका युरोपेली देशहरुमा कोभिड संक्रमण फेरि बढेको हो । कोभिड बढेसँगै ती देशहरुमा पुनः लकडाउनदेखि नियन्त्रणका अन्य प्रतिबन्धात्मक कदमहरु चालिएका छन् ।
पछिल्लो साता जर्मनीमा कोभिड संक्रमण तीब्र बढेको छ । जर्मनीमा बिहीवार ६५ हजार नयाँ संक्रमित भेटिएका थिए । यो संक्रमण दर महामारी सुरु भएयताकै सबैभन्दा ठूलो हो । पछिल्लो संक्रमणलाई त्यहाँका स्वास्थ्यमन्त्री वाई स्पानले ‘राष्ट्रिय आपतकाल’ भनेका छन् ।
कोभिड संक्रमण बढेपछि अस्ट्रियाले अन्तिम अस्त्रस्वरुप देशव्यापी लकडाउन घोषणा गरेको छ । यो लकडाउन तीन सातासम्म रहने सरकारले जनाएको छ । अस्ट्रियाका स्वास्थ्यमन्त्रीले लकडाउनलाई अन्तिम अस्त्र भनेका छन् ।
त्यस्तै, सरकारले सन् २०२२ देखि कोभिड खोपलाई अनिवार्य गर्ने कानुनी व्यवस्था ल्याएको छ । अस्ट्रियाको ठूलो जनसंख्याले अझै खोप नलगाएकोले सरकारले कानुनी व्यवस्था ल्याएको हो । अस्ट्रियामा अहिले औषतमा दैनिक १ हजार संक्रमित भेटिएका छन् ।
त्यस्तै, बेलायत र नेदरल्याड्समा पनि संक्रमण नियन्त्रण गर्ने नयाँ कदम चालिएका छन् । खोप नलगाउनेलाई भिड हुने क्षेत्रमा प्रतिबन्ध लगाएपछि शनिबार नेदरल्यान्ड्समा खोपविरोधी प्रदर्शन भएका थिए । प्रदर्शनमा गोली चलाउँदा तीन जना घाइते भएका छन् ।
त्यसैगरी संक्रमण रोक्नका लागि तत्काल प्रभावकारी कदम नचालिएमा कोरोना भाइरसका कारण आउँदो मार्चसम्ममा थप पाँच लाख मानिसको ज्यान जान सक्ने चेतावनी डब्लुएचओका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगले दिएका छन् । संक्रमण रोक्नका लागि मास्कको प्रयोग तत्काल बढाउन उनले सुझाव दिएका छन् ।
युरोपका विभिन्न देशमा अहिले संक्रमण बढ्दो क्रममा छ । केही देशले आंशिक तथा पूर्ण लकडाउन गरेका छन् । जाडो याम, खोप अभियान तीव्र नहुनु तथा तीव्र गतिमा संक्रमण फैलिने डेल्टा भेरियन्टका कारण युरोपमा पछिल्लो समय संक्रमण बढ्दै गएको डब्लुएचओको भनाइ छ ।
खोप अभियानलाई तीव्र बनाउने तथा आधारभूत स्वास्थ्य मापदण्ड सबैले पालना गरेको अवस्थामा संक्रमण नियन्त्रणमा लिन सकिने भए पनि अहिले त्यो अवस्था नरहेको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको हो ।




