एजेन्सी । ओडिशाको बेरहामपुरमा एक दुलहीले आफ्नी आमासँग गर्न बेहुलाको घर पुगेर धर्ना दिएकि छिन् । विवाहको दिन जन्ती लिएर बेहुला आफ्नो घर नआएको उनको आरोप छ ।
केही दिनअघि दुवैले अदालती विवाह गरेका थिए र दुवैको परिवारले विशेष व्यक्तिहरूको उपस्थितिमा परम्परागत हिन्दू रीति-रिवाज अनुसार विवाह गर्ने निर्णय गरेको बताइएको छ । दुलहीका परिवारका सदस्यहरू जन्तीका लागि घण्टौँ पर्खिरहेका थिए ।
उनले बेहुलालाई धेरै पटक फोन र म्यासेज पनि पठाइन् । न त उनको म्यासेजको जवाफ आयो न त उनको घरमा जन्ती नै आयो । त्यसपछि उनी आमासँगै सिधै केटाको घरमा गइन् र यसकाे विराेध गरिन् । सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेर आमा छोरीलाई सम्झाउने प्रयास गरेको थियो । तर दुबैले प्रहरीमाथि आक्रोश पोखे र बेहुलाको परिवारलाई घुस लिएको आरोप पनि लगाए ।
बेरहामपुरका एसपी पीनक मिश्राका अनुसार महिलाले सुमित नामका युवकसँग विवाह गरेकि थिइन् । यसअघि पनि महिलाले कुनै न कुनै विषयमा प्रहरीमा उजुरी दिएकी थिइन् । युवतीले फेरि केटा र उनका परिवारका सदस्यहरू विरुद्ध उजुरी दिएकी छिन् । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । अदालतको निर्देशनका आधारमा कारबाही गरिने प्रहरीले जनाएको छ ।
दुलहीका अनुसार उनले र सुमितले ७ सेप्टेम्बर २०२० मा अदालतमा विवाह गरेका थिए । उनलाई पहिलो दिनदेखि केटाकाे परिवारले प्रताडित गर्दै आएका थिए । सुरुमा उनका श्रीमानले साथ दिए । तर पछि घरपरिवारको सुझाव अनुसार उनी चल्न थाले । सुमितले आफूलाई पटकपटक कोठामा थुनिदिएकाे पनि उनकाे आराेप छ ।
उनले भनिन्,‘त्यसपछि मैले प्रहरीमा उजुरी दिएँ । तर पछि दुवैको परिवारकाे कुरा मिल्याे, सहमती भयाे । विवाहको मिति नोभेम्बर २२ मा तय भएको थियो । तर सुमितकाे परिवारले जन्ती ल्याएनन्, जसका कारण म आमासँग यहाँ आउनुपर्यो ।’






