हाम्रो सामु कोरोनाको तेस्रो लहर छ र दोस्रो लहरको परिणाम भोगेका हामीले अहिले सबै कुरा बिर्सेर यताउता घुमिरहेका छौं । अहिले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, हात सफा राख्ने काम हाम्रो दिनचर्या जस्तै भइसकेको छ । अब हामीले कोरोनाको तेस्रो लहरबाट कसरी बच्ने भनेर सोच्न र बुझ्न आवश्यक भइसकेको छ ।
पहिलो लहरमा हामीले ठूलो जोशका साथ कोरोना विरुद्धको लडाई सुरु गरेका थियौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सुझाव बमोजिम हामीले बेसार पानीको प्रयोग समेत सुरु गरेका थियौं । उनले दिएका उपाय स्वास्थ्यका दृष्टिकोणले राम्रो नभएपनि हामीमा एक किसीमले निको हुने विश्वास भने पक्कै पनि दिलाएको थियो ।
त्यतिबेलासम्म भाइरस के हो ? कसरी हुन्छ ? यसले कति विनाश निम्त्याउँछ ? जस्ता प्रश्नहरू हाम्रा अगाडि थिए, धेरै जानकारी थिएन । समाजमा डर थियो, हामीले स्वास्थ्य विज्ञानको उपाय अपनायौं । लकडाउन जस्ता कडा ऐतिहासिक परिस्थितिको कुनै भाषणबाजी नगरी सामना गरेका थियौं । यतिसम्म कि हामी व्यक्तिगत रूपमा पनि के सही वा गलत भनेर निर्णय गर्न सक्ने स्थितीमा थिएनौं ।
पछिल्लो समय पुन: संक्रमणको ग्राफ निरन्तर बढीरहेको छ र हामी अझै गम्भीर हुन सकेनौं भने ठूलो क्षति नहोला भन्न सकिन्न । आगो लाग्दा मात्रै इनार खन्ने सपना देख्ने होइन् अगाडी नै तयारी गर्नु आवश्यक छ । नराम्रो अवस्था आउन नदिन हामीले कोरोना प्रोटोकल र निर्देशिका पालना गर्नुपर्छ । यस पटक हामी आम जनताले मात्र नभई राजनीतिक नेतृत्वले पनि स्वास्थ्य निर्देशिकाहरु पालना गर्नुपर्छ ।
अहिलेको अवस्थामा राजनीतिक र्यालीमा प्रत्यक्ष जान जतिसुकै निम्तो आए पनि जानु उपयुक्त हुँदैन । विद्यार्थीहरुले प्रतिकूल परिस्थितिमा अनलाइन माध्यमबाट शिक्षा आर्जन गरे जसरी राजनीति कार्यक्रमहरु पनि अनलाइन मार्फत नै गर्नु आवश्यक छ ।
जीवनभन्दा ठुलो केही छैन र हरेक नागरिकलाई बाँच्ने अधिकार छ । यदि कसैको कुनै लापरवाहीका कारण अकालमा ज्यान गयो भने त्यस्तो व्यवस्थाको कुनै अर्थ छैन । यस्तो राजनीति अर्थहीन हुन्छ, जसले जनताको स्वास्थ्यभन्दा पनि आफ्नो स्वार्थको ख्याल राख्छ । हामी सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयको परम्पराबाट आएका हौं, यी पङ्क्तिहरू प्रायः बिहान बेलुका दोहोरिन्छन्, तर हाम्रो व्यवहार ठीक उल्टो हुँदै गइरहेको छ । हामीले आफ्नो व्यवहार सुधार गर्न सकेनौं भने कोभिड-१९ म्युटेसनपछि ‘कोभिड-२२’ समेत हुन सक्छ ।
यदि कोभिड नितान्त व्यक्तिगत रोग थियो भने व्यक्तीगत स्वतन्त्रता हुन्थ्यो तर हामी सबैलाई थाहा छ कि यदि एक जना पनि खतरामा छ भने बुझ्नुस् सबै खतरामा छन्, कोही सुरक्षित छैनन् । अहिले पनि समाजमा यस्तो अवस्था छ कि विभिन्न कट्टर आस्थाका कारण खोप नलगाउने मूर्खहरूको समूह ठूलो छ, जबकि हामीलाई थाहा छ संसारमा हालसम्म भएका सबै महामारीहरू खोपले मात्र नियन्त्रणमा आएका छन् ।






